पोखरा । युवा उद्यमी तथा समाजसेवी भाष्कर उपाध्याय र राहुल उपाध्यायलाई डागर स्मृति प्रतिष्ठान नेपालले “डागर स्मृति पुरस्कार–२०८२” अर्पण गरेको छ। राजन पराशर डागरको २४ औं स्मृति दिवसको अवसरमा आयोजित समारोहमा विजेतालाई २० हजार रुपैयाँसहित सम्मान गरिएको हो।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रमा पराशरले आफ्ना श्रीमान डागरको स्मृतिमा प्रतिष्ठान स्थापना गरी समाजसेवामा पुर्याएको योगदानलाई अतुलनीय बताए। उनले पोखरा अब परिवारका रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै पराशरको अन्तिम अभिलाषा पूरा गर्न आफूसमेत प्रयासरत रहेको धारणा राखे।
पुरस्कृत प्रतिभाबारे बोल्दै मेयर आचार्यले एकै व्यवसायमा एकै परिवारको ६० वर्षसम्मको निरन्तरता मेहनत, लगन र इमान्दारिताबिना सम्भव नहुने उल्लेख गरे। उनले व्यक्तिको सीमित स्वार्थका कारण कहिलेकाँहि उल्झन सिर्जना भए पनि त्यसमा नअल्झिन सुझाव दिँदै पोखराको लेकसाइड क्षेत्रसम्म उद्यम विस्तार गर्न सल्लाह दिए।
सिद्ध परोपकार वैदिक गुरुकुल आश्रमका संस्थापक कमलनयन गौतमले जो जसरी कमाए पनि त्यसलाई सेवामा प्रयोग नगरेसम्म त्यो सत्कर्म नहुने बताए। उनले उपाध्याय परिवारले पुरस्कार रकम आफ्नो आश्रमलाई सहयोग गरेकोप्रति आभार प्रकट गरे।
निवृत्त प्राध्यापक मञ्चका अध्यक्ष कृष्णप्रसाद पौडेलले डागर स्मृति प्रतिष्ठानले समाज रूपान्तरण र सामाजिक सेवाका लागि महत्वपूर्ण योगदान दिँदै आएको भन्दै पराशरको जीवनयात्रा सबैका लागि प्रेरणादायी भएको उल्लेख गरे।
पुरस्कार ग्रहण गर्दै मारवाडी सेवा भोजनालयका भाष्कर उपाध्यायले आफू सामान्य नागरिक मात्र भएको, केही दाजुभाइ–दिदीबहिनीलाई रोजगार दिने र राज्यलाई कर तिर्ने अवसर पाएकोमा सन्तुष्ट भएको बताए। उनले पुरस्कार आफ्ना अभिभावक र परिवारलाई अर्पण गर्दै प्राप्त रकम बराबर थप सहयोग गरेर गुरुकुललाई हस्तान्तरण गरे।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष गोविन्द गौतमले राजन पराशर डागरले देखाएको बाटोबाट प्रतिष्ठानसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे। कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोहरी सापकोटाले रमा पराशरको जीवनयात्रा सबैका लागि प्रेरणादायी भएको बताए।
यसैगरी, लायन्स क्लब अफ पोखरा समर्पणकी अध्यक्ष अम्बु कर्मचार्यले प्रतिष्ठानको कोष स्तरोन्नतिका लागि १० हजार सहयोग गरिन् भने समाजसेवी मिला श्रेष्ठले १० हजार ५५ रुपैयाँको योगदान गरे।
प्रतिष्ठानका दीपेन्द्र श्रेष्ठले प्रतिष्ठानले नेपाली वाङ्मय, विज्ञान–प्रविधि, शिक्षा, स्वास्थ्य, वातावरण, राष्ट्रसेवा, समाजसेवा तथा वैदिक सनातन संस्कृतिका क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई निरन्तर प्रोत्साहन गर्दै आएको जानकारी दिए।
प्रतिष्ठानकी संस्थापक संरक्षक रमा पराशरले प्रतिष्ठान पैसाभन्दा प्रोत्साहनमा विश्वास गर्ने भएकाले प्रतिभावान् युवालाई सम्मान गर्दै आएको बताइन्।
प्रतिष्ठानका सचिव असफल गौतमका अनुसार यसअघि समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आर.एम. डंगोल, भीम रानाभाट, सुमल गुरुङ, मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा. तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ, युवा वैज्ञानिक मनिषा द्वा, युवा पाइलट दीक्षान्तजंग राणा लगायतलाई पनि यो पुरस्कार प्रदान गरिसकेको छ।
समारोहमा संस्थाकी कार्यवाहक अध्यक्ष सरिता तिम्सिना पगेनीले सक्रिय पत्रकारिताको यात्रामा रमा पराशरसँग जोडिन पाउनु आफ्ना लागि अवसर भएको बताइन्। कार्यक्रममा दीपेन्द्र श्रेष्ठलाई हालै प्राप्त राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ का लागि बधाई दिइयो भने कार्यवाहक अध्यक्ष पगेनीलाई गण्डकी प्रदेश सरकारको प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद् सदस्यमा मनोनयन भएकोमा सम्मान गरिएको थियो।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







