पोखरा महानगरले असोज १ गतेदेखि सेवा थाल्ने


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ

पोखरा, भदौ २९

पोखरा महानगरपालिकाले असोज १ गतेदेखि पुनः सेवा थाल्ने भएको छ । पोखरा महानगरपालिकाको हालै बसेको भर्चुअल कार्यपालिका बैठकले जेनजी आन्दोलनका कारण कार्यालयमा पुगेको क्षेतीका कारण स्थगित सेवा असोज १ गतेदेखि दिने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते पोखरा महानगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी भएको थियो । जसका कारण महानगरको कार्यालयमा पूर्ण रुपमा क्षेती पुगेको छ ।

महानगरको ५२ औं कार्यपालिका बैठकले क्षेती नपुगेका कार्यालयहरुबाट सेवा दिने निर्णय गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सिनाले जानकारी दिए । त्यस्तै, क्षेती पुगेको संरचनाको यकीन विवरण संकलन गर्ने पनि निर्णय भएको उनले बताए । उनले भने,‘उचित ठाउँको व्यवस्थापन गरि सेवा दिने निर्णय भएको छ ।’

निर्णय अनुसार महानगरपालिकाले सेवा दिने ठाउँहरुको पनि पहिचान गरेको छ । जस अनुसार हालको दमकल भवनमा महानगर प्रमुख र उपप्रमुखलगायतको कार्यकक्ष बनाईने भएको छ । त्यस्तै, सोहि ठाउँमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष राखिनेछ भने सार्वजनिक लेखा समिति, कानून शाखा, सरसफाई शाखा र दमकल सेवा कक्ष पनि सोहि ठाउँमा राखिनेछ ।

यसैगरी, महानगरले सार्वजनिक कार्यक्रम गर्ने थलो पोखरा सभागृहमा पनि प्रशासन महाशाखा राखेर सेवा दिने भएको छ । जहाँ राजश्व महाशाशखा र सहरी विकास महाशाशखा (व्यापार प्रवद्र्दन कक्ष)मा रहनेछ भने भण्डार शाखा, तथ्याङ्क शाखा, विपद÷उजुरी फछ्र्यौट शाखा, अभिलेखीकरण शाखा, पञ्जीकरण शाखा, लेखा शाखा र महानगर प्रहरी बल पनि राखिनेछ ।

यसैगरी, शिक्षा विकास महाशाखालाई यथास्थानमै राखिने भएको छ भने पूर्वाधार विकास महाशाखामा योजना शाखा, आन्तरिक लेखा परीक्षण शाखा र खरिद शाखा राखेर सेवा दिईने भएको छ । महानगरले आर्थिक विकास महाशाखालाई यथास्थानमा राखेको छ भने सो स्थानमा सहकारी शाखा, श्रम तथा रोजगार शाखा (सामी कार्यक्रमसमेत) र व्यवसाय प्रवद्र्दन केन्द्र राखेर सेवा दिने प्रवक्ता तिमिल्सिनाले जानकारी दिए । महानगरले संवैधानिक व्यवस्थाले असन्तुष्टि प्रकट गर्ने अधिकार सुनिश्चित गरेको भए पनि सार्वजनिक सम्पत्ति जलाउने र कर्मचारीलाई आतङ्कित गर्ने कार्य अपराध भएको जनाएको छ । साथै दोषीहरूको पहिचान गरी कानुनी कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । तोडफोड र आगजनीको मौका पारेर महानगरपालिका, वडा कार्यालय लगायत मातहतका कार्यालयहरूबाट कोही कसैले सामग्री लगेको भए इमानदारपूर्वक फिर्ता गर्न पनि महानगरले अपिल गरेको छ ।

जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा महानगरपालिकाको कार्यालय जल्दा भौतिक संरचनामा क्षेती पुगेको छ भने कागजातहरु जलेर नष्ट भएका छन् । त्यस्तै, महानगरपालिकाका ३३ वटा वडामध्ये २७ वटा वडामा जेनजी आन्दोलनकारीले आगो लगाएका थिए । जसमध्ये २० वटा वडा कार्यालयमा पूर्ण क्षेती पुगेको छ भने ७ वटामा आंशिक क्षेती पुगेको प्रवक्ता तिमिल्नाले जानकारी दिए । उनका अनुसार बाँकी ६ वटा वडा भने ग्रामिण क्षेत्रमा भएकाले तोडफोड तथा आगजनी भएका छैनन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य विदेश भएकाले कार्यपालिका बैठक भर्चुअल बसेको हो । कास्की समाज युएईले युएईमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यहाँ गएका मेयर आचार्य अझै नफर्केका हुन् । कार्यक्रम सकिएको एक हप्ता भइसके पनि उनी पोखरा फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा महानगर कार्यालयसहित विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएर वितण्डा मच्चिदासमेतस्वदेश नफर्किएपछि मेयर आचार्यको आलोचना भइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।