जेनजी आन्दोलन : गण्डकी प्रदेश मातहतका दुई दर्जन कार्यालय जले

- ४७ चारपाङ्ग्रे र ११२ दुई पाङ्ग्रे सवारी साधनमा क्षेती


     एभरेस्ट आवाज    
     असाेज १ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज १

जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश सरकार मातहतका दुई दर्जन भवनमा क्षेती पुगेको छ । भ्रष्टाचारबिरुद्द भएको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश सरकार मातहत रहेका दुई दर्जन बढी कार्यालयका भवनहरुमा तोडफोड तथा आगजनीबाट क्षेती पुगेको गण्डकी प्रदेश सरकारले प्रारम्भिक तथ्याङ्क निकालेको हो । त्यसमध्ये ११ वटा भवनमा आगजनीहुँदा पूर्ण रुपमा क्षेती पुगेको छ भने बाँकी ११ वटामा तोडफोड र सामान्य आगजनी भएकाले आंशिक क्षेती पुगेको प्रारम्भिक निश्कर्ष निकालेको प्रदेश सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।

गण्डकी प्रदेश सरकारका अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मुख्यमन्त्री निवासमा आगजनी हुँदा जलेर क्षेती पुगेको छ । आगजनीका कारण मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सभाहल, मुख्यमन्त्रीको कार्यकक्ष, मन्त्री परिषदको बैठक कक्ष र प्रदेश कितावखाना पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

त्यस्तै, गण्डकी प्रदेश सभा र प्रदेश सभा सचिवालयको प्रशासनिक भवन पूर्ण रुपमा जलेका छन् । प्रदेश सभा अन्तर्गतको चार वटा संसदीय दलका कार्यालय पूर्ण रुपमा जलेर नष्ट भएका छन् । प्रदेश सभा परिसरमा रहेका आवास भवन, पुस्तकालय, स्वास्थ्य शाखासहित अन्य भवनहरु पनि पूर्ण रुपमा जलेका छन् ।

भैतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सहरी विकास तथा भवन कार्यालय, पूर्वाधार विकास कार्यालय, कास्कीमा तोडफोड गरी क्षेती पु¥याइएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र र सवारी दुवै कार्यालयमा आगजनीहुँदा पूर्ण रुपमा क्षेती पुगेको छ । मन्त्री निवासमा आगजनीहुँदा भुईंतलामा पूर्ण क्षेती पुगेको उल्लेख छ ।

आर्थिक मामिला मन्त्रालयमा आगजनीहुँदा भुईंतलामा तोडफोड र आगजनीहुँदा आंशिक क्षेती पुगेको छ । सभाहल भने पूर्ण रुपमा जलेको जनाइएको छ । माथिल्लो तलामा रहेको मन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ भने मन्त्री निवासमासमेत आगजनी गरी भुईंतालामा क्षेती पु¥याइएका छन् ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको निवासमा आगजनी गरिएको छ । पर्यटन तथा उद्योग मन्त्रीको निवासमा तोडफोडहुँदा पहिलो तलामा क्षेती पुगेको छ । तोडफोड पश्चात त्यहाँ चोरी तथा लुटपाटसमेत भएको बताइएको छ । मन्त्रालय अन्तर्गतको निर्देशनालयको भवनमा आगजनीहुँदा पूर्ण क्षेती पुगेको उल्लेख छ ।

वन तथा वातावरण मन्त्रालयको भवनमा तोडफोड गरिएको छ भने मन्त्रीको सचिवालय र कार्यकक्षमासमेत तोडफोड भएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय र गण्डकी विश्वविद्यालयमा तोडफोड गरेर क्षेती पु¥याइएको छ । खेलकुद शाखामा आगजनीहुँदा क्षेती पुगेको छ भने मन्त्रालयका सचिवको कार्यकक्षबाट सामग्री चोरी भएको छ । मन्त्रीको निवासमा आगजनी र तोडफोडहुँदा सामान्य क्षेती पुगेको जनाइएको छ । मन्त्री बस्ने कोठामासमेत आगजनीका कारण क्षेती पुगेको छ ।

गण्डकी प्रदेश प्रमुखको निवासमा आगजनीहुँदा पूर्ण रुपमा क्षेती पुगेको छ भने सामानहरु चोरी भएको जनाइएको छ । प्रदेश नीति तथा योजना आयोगको भवनमा आगलागी हुँदा जिल्ला समन्वय समितितर्फको भागमा क्षेती पुगेको छ ।

आन्दोलनका क्रममा प्रदेश सरकार मातहतका ४९ वटा चारपाङ्ग्रे सवारी साधनमा तोडफोड तथा आगजनी गरिएका छन् । त्यस्तै, ११२ वटा दुई पाङ्ग्रे सवारी साधनमा तोडफोड तथा आगजनी गरि क्षेती पु¥याइएको जनाइएको छ ।

चारपाङ्ग्रेतर्फ प्रदेश नीति तथा योजना आयोगका ३ वटा, वन तथा वातावरण मन्त्रालयका ४ वटा, वन निर्देशनालयको एउटामा आगजनी भएको छ भने थप एउटामा तोडफोड भएर पूर्ण क्षेती पुगेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका ५ वटा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका ६ वटा, आर्थिक मामिला मन्त्रालयको ३ वटा, उर्जा, जलस्रोत तथा खोपानी मन्त्रालयको ४ वटा, खानेपानी कार्यालय तनहुँको एउटा र जलस्रोत कास्कीको एउटा गाडीमा आगजनी भएका छन् भने थप एउटा गाडीमा तोडफोडहुँदा क्षेती पुगेको छ । पर्यटन तथा उद्योग मन्त्रालयका ४ वटा, प्रदेश प्रमुखको ४ वटा, प्रदेश लोकसेवा आयोगको ४ वटा र गण्डकी प्रदेश सभा सचिवालयको ६ वटा चारपाङ्ग्रे सवारी साधन जलाइएको सूचनामा छ ।

दुईपाङ्ग्रेतर्फ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका १० वटा, प्रदेश नीति तथा योजना आयोगका ४ वटा, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका १२ वटा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका २७ वटा, आर्थिक मामिला मन्त्रालयका ६ वटा, उर्जा, जलस्रोत तथा खोपानी मन्त्रालयका १८ वटा, स्वास्थ्य मन्त्रालयका ३ वट, पर्यटन तथा उद्योग मन्त्रालयका ५ वटा, प्रदेश प्रमुखको ३ वटा, प्रदेश लोकसेवा आयोगका एउटा र गण्डकी प्रदेश सभा सचिवालयका १२ वटा दुईपाङ्ग्रे सवारी साधन जलाउँदा पूर्ण क्षेती पुगेको निमित्त प्रमुख सचिव रमेश ढकालले जनाएका छन् ।

कार्यालयमा क्षेती पुगेपछि कर्मचारी अहिले सरसफाईमा जुटेका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार निरीक्षण गरेका थिए । उनले चाँडै सेवा थाल्ने बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।