पोखरा । गत भाद्र २३ र २४ गते आयोजित जेन–जी (जेनेरेशन जेड) आन्दोलनको क्रममा आपराधिक मनोवृत्ति बोकेको समूहले बरपिपल रिसोर्टसहित सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेको घटनाप्रति रिसोर्ट परिवारले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ।
रिसोर्टका अध्यक्ष तथा प्रबन्ध निर्देशक जितु गुरुङले बुधबार आफ्नो फेसबुकमा “प्रतिबद्दता शिर्षकमा लामो भाबुक तर उत्प्रेरणामूलक स्टाटस राख्दै भने,
“हामी लडेका थियौं, हिम्मत गरेर फेरि उठेका छौं।
उनीहरुले रिसोर्टका भौतिक संरचना ढालेका हुन् हाम्रा सपना र उत्साह हैनन् ।
त्यसैले हाम्रो यात्रा जारी छ,
खरानी र धुलो टक्टकाउदै, सतिसाल झैं ठडिदै …. ।”
उनले भनेका छन् बरपिपल रिसोर्ट अत्याधुनिक पूर्वाधारयुक्त संरचना हो, जुन भिरालो जग्गामा सुन्दर डिजाइनसहित “ड्रिम प्रोजेक्ट”का रूपमा बैंक ऋणमार्फत निर्माण गरिएको हो। रिसोर्टले पोखराको पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएको छ, वार्षिक करमा दुई करोड रुपैयाँ तिरेको छ र करिब १२० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।
गुरुङले आक्रमणकारीले लगाएको आरोपको स्पष्ट पार्दै चेतावनीको भाषामा प्रष्ट भने, “बरपिपल रिसोर्टमा माओवादी अध्यक्ष प्रचण्डको लगानी छ, त्यसैले जलाउनु पर्छ” भन्ने अफवाह फैलाइएको कुरा पनि बाहिरियो। यस्तो मिथ्या सूचना सर्वथा कपोलकल्पित, निराधार र नियोजित प्रपोगाण्डा हो। यस रिसोर्टमा मेरो र मेरो परिवारबाहेक कसैको एक रुपैयाँ पनि लगानी छैन। यदि कसैसँग प्रमाण छ भने देखाउन म खुला चुनौती दिन्छु। म कुनै राजनीतिक दलको कार्यकर्ता नभई शुद्ध पर्यटन व्यवसायी हुँ। त्यसैले यस्ता अनर्गल प्रचार नगर्न र भ्रम सिर्जना नगर्न म अनुरोध गर्दछु । ”
भाद्र २४ गते साँझको घटनामा रिसोर्टका तीन पर्यटक वाहन, तीन गेस्ट कार, बार, स्पा, लबी, गेस्ट रुम लगायतमा आगजनी र तोडफोड भएको थियो। बारमा रहेको आयातित मदिरा चोरी भएको थियो भने गेस्ट रुमको तोडफोडका कारण पर्यटकहरू भाग्न बाध्य भएका थिए। यस घटनाले करोडौं मूल्य बराबरको क्षति पुर्याएको छ र पोखरा/नेपाल पर्यटनको लागि असुरक्षित रहेको नकारात्मक सन्देश प्रबाह भएको गुरुङको जिकिर छ।
गुरुङले आफ्नै संघर्षपूर्ण यात्राको कुरा साझा गर्दै भने, “म ३० वर्षअघि लमजुङको दोर्दी श्रीमन्ज्याङ गाउँबाट केवल १ हजार रुपैयाँ बोकेर पोखरा आएको थिएँ। क्लिनिङ, गाइड, होटल व्यवसायमा संघर्ष गर्दै आज बरपिपल रिसोर्टसम्मको यात्रा पूरा गरेको छु। असफलता, ऋण, युद्ध, जनआन्दोलन, भुकम्प, कोभिड लगायत चुनौतीहरूका बावजुद मैले यो रिसोर्ट निर्माण गरेको हुँ।”
उनले आफ्नो उतारचढाबपूर्ण बिगत सम्झदै भने, “म पटक पटक असफलता, ऋण, बिदेश जाने चक्करमा ठक्कर खाएको, एजेन्टबाट धोका पाएको, दरबार हत्याकाण्डले निरास बनाएको, माओबादी युद्धको बिषमता भोगेको, जनआन्दोलनको असर ब्यहोरेको, नाकाबन्दी, भुकम्प, कोभिडको कहरले थला पार्दा पनि चुनौती बीच उठ्ने आँट गरेर अगाडि बढेको ब्यक्ति हुँ । त्यसै आँट हिम्मत र लामो श्रम, पसिना र सपनाको बलमा मैले यो रिसोर्ट ठड्याउन सफल भएकौ हुँ।”
रिसोर्टका कर्मचारीहरूले आपराधिक घुसपैठीलाई जोगाउँदै थप क्षति हुनबाट बचाउन महत्वपूर्ण भूमिका निभाएका छन्। गुरुङले थपे, “हाम्रो कर्मचारीहरूको जागीर र सेवा निरन्तरता सुनिश्चित गर्ने प्रतिबद्धता कायम छ। कठिन परिस्थितिमा पनि हामी फेरि सञ्चालनमा आएका छौं र अझ गुणस्तरीय सेवा दिने छौं।”
गुरुङले स्थानीय प्रशासन र सरकारसँग निष्पक्ष छानबिन गरी दोषीलाई फौजदारी कानुनअनुसार कारबाही गर्न माग गर्दै भने, “यो आक्रमण वास्तविक जेनजी आन्दोलनको नभई आपराधिक गिरोहको हो। भ्रष्टाचारमुक्त, स्थिर र शान्त नेपाल बनाउन सबैले एकजुट हुनु आवश्यक छ।”
उक्त घटनापछि गुरुङले सबैका लागि प्रेरणादायी शब्दमा जोड दिए, “हामी लडेका थियौं, हिम्मत गरेर फेरि उठेका छौं। उनीहरुले रिसोर्टका भौतिक संरचना ढालेका हुन्, हाम्रा सपना र उत्साह होइनन्। त्यसैले हाम्रो यात्रा जारी छ—खरानी र धुलो टक्टकाउदै, सतिसाल झैं ठडिदै।”
बरपिपल रिसोर्टले पुनः सेवा सञ्चालन शुरु गरिसकेको जनाउदै गुणस्तरीय सेवा र उन्नत व्यवस्थापनको प्रतिबद्धता जनाएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







