कास्कीमा आजदेखि नागरिकता र पासपोर्ट वितरण शुरु


     एभरेस्ट आवाज    
     असाेज ८ गते २०८२ मा प्रकाशित




कास्कीमा आजदेखि नागरिकता र पासपोर्ट वितरण कार्य शुरु भएको छ । जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय भवनमा आगजनी र तोडफोड हुँदा भवनसँगै कागजातहरु नष्ट भएपछि प्रशासनको नियमित कार्यहरु रोकिएका थिए । तर आन्दोलनपश्चात खरानी टकटकाउँदै भदौ २९ गतेदेखि सामान्य सिफारिसका काम मात्र हुँदै आएको थियो ।

असोज ८ गते आजदेखि भने थप सेवा शुरु गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले नया नागरिकता वितरण, आगजनीपछिको प्रक्रियाअनुसार राहदानी विभागबाट कार्यालयमा प्राप्त भएका राहदानी वितरण र भारतीय पेन्सन सिफारिस सेवा सञ्चालन गरिएको हो । राहदानी भने रजिस्टर्ड मोबाइल नम्बरमा ‘…Your Passport is ready to collect’ भन्ने SMS प्राप्त गरेका सेवाग्राहीका लागि मात्र प्रदान हुने जनाइएको छ ।
यसअघि सार्वजनिक गरिएको असोज २ गतेको सूचनाअनुसार इलाका प्रशासन कार्यालय, लेखनाथबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ। साथै, प्रतिलिपि नागरिकता, गैरआवासीय नागरिकता, राहदानी फोटो खिच्ने (Enrlloment), संघ–संस्था दर्ता, नाबालक परिचयपत्रलगायतका अन्य सेवा पनि चाँडै सञ्चालन गरिने जानकारी दिइएको छ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले नागरिकलाई सूचनाको पालना गर्न र तोकिएका सेवाका लागि मात्र कार्यालय सम्पर्क गर्न पनि आग्रह गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।