नौलो घुम्ती नेपालको २४ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज ९ गते २०८२ मा प्रकाशित




पोखरा । लागुऔषध परामर्श, उपचार तथा पुनःस्थापना क्षेत्रमा क्रियाशील नौलो घुम्ती नेपालले आफ्नो २४ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ । साधारण सभासँगै संस्थाको सामाजिक परीक्षण पनि गरिएको थियो ।

सभाले महासचिव कमलप्रसाद अर्यालले पेश गरेको प्रगति प्रतिवेदन २०८१/८२ र कोषाध्यक्ष कमला रिमालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई आवश्यक सुधारसहित पारित गरेको छ ।

सामाजिक परीक्षणका क्रममा हालसम्म २ हजार ९१४ पुरुष र ७८९ महिला गरी ३ हजार ७१२ जनाले आवासीय उपचार सेवा लिएका जानकारी दिइयो । आर्थिक वर्ष २०८१/८२ मा मात्रै १३६ पुरुष र ७३ महिलाले सेवा प्राप्त गरेका छन् । साथै, एचआइभी/एड्स रोकथाम, हेरचाह तथा उपचार कार्यक्रम सञ्चालन गर्दै आएको र कास्कीका ४२ सामुदायिक विद्यालयका ८८३ विद्यार्थीलाई शैक्षिक सहयोग गरेको जानकारी उनले दिए ।

पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका शाही योगीले संघ–संस्था सरकारको अभिन्न अंग भएको उल्लेख गर्दै पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्न आग्रह गरिन् ।

संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले लागुऔषध प्रयोगकर्तालाई लक्षित गर्दै सुरु गरिएको सानो प्रयास आजको समुन्नत अवस्थामा आउँदा सन्तोष मिलेको बताए । महासचिव अर्यालले एकीकृत सामुदायिक विकास कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, बाल संरक्षण र जीविकोपार्जनमा समेत काम भइरहेको जानकारी गराए ।

संस्थाका अध्यक्ष सुरेन्द्र थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैसस महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष पदमराज पहारी, वरिष्ठ उपाध्यक्ष मंगलबहादुर नेपाली, पूर्व अध्यक्ष इन्दिरा बराल, रेडक्रस कास्की सभापति उर्मिला खड्का भण्डारी, सहरा क्लब अध्यक्ष केशवराज बराल, आजीवन सदस्य टोपराज ढुंगाना लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सामाजिक परीक्षणको जिम्मेवारी सामाजिक परीक्षक दीपेन्द्र श्रेष्ठले वहन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।