आगामी निर्वाचनले मुलुकमा स्थायित्व प्रदान गर्छ–उपसभामुख राना


     एभरेस्ट आवाज    
     असाेज १४ गते २०८२ मा प्रकाशित




उपसभामुख इन्दिरा रानाले आगामी निर्वाचन मुलुकलाई स्थायित्व प्रदान गरी र संवैधानिक बाटोमा अघि बढाउने अवसरका रूपमा आएको बताउनुभएको छ ।

बडादसैँ २०८२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने नेपालीलाई शुभकामना दिने क्रममा उपसभामुख रानाले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबैसँग अनुरोध गर्नुभयो । “निर्वाचनमार्फत जनताको अधिकार प्रत्याभूत गर्ने, लोकतन्त्रलाई सबल बनाउने र जनप्रतिनिधिहरूमार्फत मुलुकको नीतिनिर्माण गर्ने कुरालाई संस्थागत गरिन्छ, आसन्न निर्वाचनलाई सफल बनाउन सम्बद्ध सबै पक्षको सक्रिय सहभागितासहित सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु,” शुभकामना सन्देशमा उल्लेख छ ।

यसैगरी राष्ट्रियसभाका उपाध्यक्ष निर्मला घिमिरेले जनताले अपेक्षा गरेको सुशासन र जवाफदेहितामा जनप्रतिनिधिहरू अझ उत्तरदायी बन्नुपर्ने खाँचो औँल्याउनुभएको छ । उपाध्यक्ष घिमिरेले बडादसैँका अवसरमा शुभकामना सन्देश दिनुहुँदै पछिल्लो समय संविधानको संरक्षण, राजनीतिक स्थायित्व र सुशासनप्रति नागरिकको अपेक्षा बढेको बताउनुभएको छ । राष्ट्रियसभाले निरन्तर संविधान कार्यान्वयन, संसद्को गरिमा र लोकतान्त्रिक संस्कृतिको सुदृढीकरणमा ध्यान दिइरहेको उल्लेख गर्दै उहाँले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बीच राष्ट्रियसभालाई संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न क्रियाशील बनाउने दायित्व थपिएको बताउनुभयो ।

उहाँले मुलुकलाई स्थिर, शान्त र समृद्ध बनाउन सबै राजनीतिक दल, नागरिक समाज, आमसञ्चारमाध्यम र प्रत्येक नागरिकको सक्रिय योगदान अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।