आज बडादसैँ अन्तर्गत महानवमी


     एभरेस्ट आवाज    
     असाेज १५ गते २०८२ मा प्रकाशित




काठमाडौ ।
बडादसैँको नवौं दिन अन्तर्गत आज महानवमी पर्व मनाइँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना हुन्छ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।आजकै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बली दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। काठमाडौंको तलेजु भवानीको मन्दिर आजकै दिन सर्वसाधारणका लागि खुल्ला रहन्छ। पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्छन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ।काठमाडौं, ललितपुर र भक्तपुरका कुमारी घरमा कुमारीको पूजा गर्ने घुइँचो हुन्छ। तलेजु भवानीको मन्दिरमा कुमारीचोकको निर्माण गरी प्रत्येक वर्ष नवमीमा पूजा गर्ने चलन मल्लकालदेखि चलेको बताइन्छ। काठमाडौं र दोलखामा दशैंका बेला खड्गजात्रा मनाइन्छ ।आज पनि विहानै देखि पोखरा सहित देशभरका शक्तिपिठहरुमा दर्शनार्थीको भीड लागेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।