नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनका लागि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले सक्रियता बढाएका छन् ।
जेनजी आन्दोलनपछि राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनको बहस चर्किँदै गईरहेको बेला नेपाली कांग्रेस भित्र पनि बहस चलेको हो । यसका लागि महामन्त्री गगन थापाले सोमबार र अर्का महामन्त्री शर्माले कांग्रेस नेता शेखर कोईरालासँग छलफल गरेका छन् ।‘सोमबार महामन्त्री थापा र शेखर दाइबीच कुरा भएको थियो। महामन्त्रीले सभापतिलाई जसरी पनि यसपटक हटाएर पार्टी रिफर्म गरौँ भन्नुभयो,’ छलफलमा रहेका शेखरनिकट एक नेताले भने, ‘शेखर दाइले पनि एक पटक केन्द्रीय समिति बैठकमा यसबारे उहाँलाई अनुरोध गरौँ। उहाँले मान्नु भएन भने केके विकल्प छन्, ती विकल्पमा गएर पार्टी सुधारमा लागौँ भन्नुभयो।’
उनका अनुसार कोइराला र थापा आगामी मंसिरमै नियमिति महाधिवेशन गर्नुपर्नेमा एकमत छन्। उनीहरूले पुरानो महाधिवेशन प्रतिनिधि कायमै राखेर वा केही दिनका लागि नयाँ सदस्यता तथा नवीकरण खुला गरी टुंग्याउन सकिने विषयमा पनि छलफल गरेका थिए। थापाले आगामी केन्द्रीय समितिको बैठकमै ४० प्रतिशतभन्दा धेरै हस्ताक्षर पेस गर्ने तयारी आफ्नो रहेको सुनाएका थिए। मंगलबार पनि कोइरालाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्। छलफलमा महामन्त्री शर्माले नेतृत्व परिवर्तन यस पटक जसरी पनि गर्नैपर्नेमा जोड दिएका थिए।
‘छलफलमा महामन्त्री ९शर्मा०ले नेतृत्व परिवर्तन यसैपटक गर्नुपर्ने र धेरै कुर्न नहुने प्रस्ताव राख्नुभएको थियो’ छलफलबारे जानकार नेताले भने,‘शेखर दाइले पनि एक पटक केन्द्रीय समितिमा यो प्रस्ताव गर्ने भन्नुभयो।’केही नेताले भने पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिन पनि भनेका छन्। उनलाई कार्यवाहक दिँदा देउवा टिममै फुट देखिने भएपछि देउवा सहजै कार्यवाहक दिन तयार नरहेको श्रोतले बताएको छ ।महामन्त्री थापा भने नेतृत्व परिवर्तन अहिले नगरे कहिले भनेर कस्सिएका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेसलाई बलियो शक्तिका रूपमा उभ्याउने हो भने सभापति देउवाले असोज २६ गतेको बैठकबाटै केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति गठनको प्रस्ताव गर्नुपर्ने बताउँछन्।
असोज २६ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। यो बैठकले कांग्रेसको भावी रणनीति तय गर्ने भनिएको छ। यो बैठकबाटै सभापति देउवाले कार्यवाहक दिएर आफू विश्राम गर्नुपर्ने आवाज पनि उठिरहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







