हाम्रा सुरक्षा निकाय डिप स्टेट होल्डरसँग बिके : खगराज

- ‘पछिल्लो परिस्थितिबारे ओली जानकार थिए'


     एभरेस्ट आवाज    
     असाेज २२ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज २२

नेकपा एमालेका नेता खगराज अधिकारीले अध्यक्ष केपी शर्मा ओलीले देशका सबै सुरक्षा निकाय डिप स्टेट होल्डरसँग बिकेको गम्भीर आरोप लगाएका छन् । नेकपा एमाले पोखरा महानगर कमिटीको कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै पूर्व गृहमन्त्री तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका उनले नेपाली सेना, प्रहरीलगायतका चारवटै सुरक्षा निकायहरु डिप स्टेट होल्डरसँग बिकेको दाबी गरेका हुन् । केहि समुन्द्र पारीका र केहि छिमेकी डिप स्टेट होल्डरहरुका कारण अहिलेका अवस्था सिर्जना भएको हो,उनले भने,‘यसमा हाम्रा चारवटै सुरक्षा निकायहरु सेना, प्रहरी, अनुसन्धान र सशस्त्र प्रहरी पनि बिके ।’ देश पछिल्लो अवस्थामा जाँदैछ भन्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिल्यै थाहा भएको उनले दाबी नै गरे । भने,‘तत्कालीन प्रधानमन्त्री ओलीलाई यो कुरा थाहा थियो, त्यसैले उनले परिस्थिति होल्ड गर्न कोशिष गरेका पनि थिए तर सुरक्षा निकालयले साथ नदिदा राजिनामा दिन बाध्य भए ।’

अधिकारीले सेना अझै पनि लोकतान्त्रीकरण नभएको आरोप लगाए । हामीले राज्य भनेको मन्त्री भनेर बुझ्यौं र बुझायौं,उनले भने,‘तर राज्यसत्ता भनेको सेना, प्रहरी, अड्डा, अदालत हो । सेनाप्रति विश्वास नगरीकन पनि भएन । सिंहदरबार जल्दा सेना हेरिरह्यो ।’ डिप स्टेट होल्डरहरुले गरेको आक्रमणको मतियार एमालेका कार्यकर्ता र सदस्य हुन नहुने उनले बताए । उनले जेनजी आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री ओलीले गोली हान्ने आदेश नदिएको दाबी गरे । गोली हान्ने आदेश प्रधानमन्त्रीले दिदैन, गोली हान्ने आदेश जिल्ला सुरक्षा समितिले गर्छ,उनले अगाडि थपे,‘केपी ओलीले गोली हान्ने आदेश दियो भनेर कल्पना गर्न सक्छौं हामी ? सरकारका पालामाचाहिं भएको हो भन्न सकिन्छ ।’ उनले जेनजी आन्दोलनका अगुवाले नै घुसपैठीयाले तोडफोड र आगजनी गरेको भनेकाले गोली पनि उनीहरुकै कारणले भएको हुनसक्ने संकेत गरे ।

नेता अधिकारीले अध्यक्ष ओलीलाई समातेर देखाउन चुनौति दिए । ओलीलाई समाते एमाले पंक्ति र खास गरेर कास्की एमालेले जुलुश निकाल्देखि एमाले जिन्दावाद भन्दै नारा लगाउने उद्घोष गरे । यनदृ अध्यक्ष ओलीलाई बिस्थापित गरेर पार्टी बनाउन नसकिने पनि बनाए । ओलीलाई पहिले हटाउनु पर्छ अनि हामी पार्टी पुर्नगठन गर्छौं भन्ने नादानी कुरा अहिले भइरहेको छ,उनले भने,‘हाम्रो शैली, जीवन शैली सच्चिनु पर्छ, त्यो ठीक छ तर केपी ओली बिनाको एमाले बनाउन सकिदैन । ओलीलाई बिस्थापित गरेर एमाले बन्दैन ।’

अधिकारीले अब पार्टी चुनावमा होमिने बताए । फाल्गुण २१ गते चुनाव हुँदैछ,उनले भने,‘अब हामी चुनावको तयारी गरौं ।’ त्यसका लागि पार्टी पंक्ति खटिनुपर्ने भन्दै उनले पुलिस आर्मीले गर्देला भनेर चुप नबस्न कार्यकर्तालाई आग्रह गरे । उनले अहिले बहालवाला प्रदेश सभाका सदस्यहरु प्रतिनिधि सभाका सदस्य बन्न गाह्रो रहेको पनि उल्लेख गरे । अहिलेको परिस्थितिले पनि त्यहि भनिरहेको बताउँदै उनले भने,‘अब साथीहरु मध्येबाट लोकप्रियताको आधारमा उम्मेदवार चयन हुन्छ र हुनुपर्छ ।’

कार्यकर्ता भेलामा सहभागीहरुले एमाले सच्चिनुपर्ने भन्दै आवाज उठाएका थिए । जेनजी आन्दोलनले धेरै कुरा सिकाएको भन्दै उनीहरुले पार्टी सच्चिएर परिस्कृत हुनुपर्नेमा जोड दिएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।