आइसिसी टी -२० : नेपालसँग कुवेत पराजित


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०८२ मा प्रकाशित




तस्बिरः क्यान

आइसिसी टी -२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी-१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो ।

नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछाएको कुवेत १८ दशमलव एक ओभरमा सबै ‘विकेट’ गुमाउँदै ८३ रनमा समेटियो । कुवेतका लागि ‘ओपनर’ क्लिन्टो आन्टोले २६ तथा यासिन पटेलले १९ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रोहित पौडेलले समान दुई -दुई विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले समान एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाए । यस्तै, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०-२० रन बनाए भने कप्तान रोहित पौडेलले १६ बनाए ।

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई-दुई विकेट लिए । मोहम्मद आकिफ फरुकले एक विकेट लिए । अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।