बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पुर्याइयो


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०८२ मा प्रकाशित




दमौलीको शुक्लागण्डकी नगरपालिका–४ मा जिपको ठक्करबाट घाइते एक बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पोखरा लगिएको छ । जिपको ठक्करबाट घाइते नामथर वतन नखुलेका उनलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारपश्चात् बिहीबार हेम्जास्थित मानव सेवा आश्रम लगिएको हो ।

शुक्लागण्डकीका युवा अभियान्ता शङ्कर पन्तको समन्वयमा उनलाई आश्रम लगिएको छ । जिपको ठक्करबाट बुधबार साँझ घाइते ती व्यक्तिलाई बुधबार नै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र भर्ना गरिएको थियो । बेबारिसे अवस्थामा सडकमा हिँडिरहने उनलाई आश्रम पुर्याइएको पन्तले जानकारी दिए ।

पन्तले भने, “उनको नाम, ठेगाना थाहा छैन, बोल्दा पनि बोल्नुहुन्न । यत्तिकै बेबारिसे अवस्थामा छाड्नुभन्दा मानव सेवा आश्रम लैजाने निधो गरेका हौँ ।” शुक्लागण्डकी नगरपालिकाको सिफारिसपत्रसहित उनलाई आश्रमको जिम्मा लगाइएको पन्तले बताए । नगरपालिकाले नै एम्बुलेन्सको व्यवस्था गरिदिएको थियो ।

उक्त आश्रममा हाल एक सय ८२ जनाले आश्रय लिइरहेका छन् । त्यहाँ शारीरिक अपाङ्गता भएका, मानसिक अपाङ्गता भएका, कोही बिरामीले आश्रय लिइरहेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।