कास्कीमा ‘अपरेसन ३६५’ सञ्चालन

- मोडीफाई गरि सवारी चलाएको पाईए सवारी धनी र मोडीफाई गर्नेलाई पनि कारवाही गरिने


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज २८

कास्की प्रहरीले ‘अपरेसन ३६५’ शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शान्ति सुव्यवस्था कायम गर्न भन्दै कास्की जिल्ला भरी लागु हुनेगरी ‘अपरेसन ३६५’ सञ्चालन गरेको जनाएको हो ।

मोटरसाईकलको स्वरुप परिवर्तन गरेर ठुलो आवाज निकालेर ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने तथा शान्ति सुव्यवस्था खलल पार्ने लगायतका गतिविधी बढेको भन्ने जनगुनासो आएपछि यो अभियान सञ्चालन गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । असोज २७ गते सोमबारदेखि शुरु भएको यो अभियान निरन्तर चल्ने उनले बताए ।

अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालय समेतबाट एकै समयमा प्रहरी परिचालन गरी रातको समयमा होहल्ला गर्दै हिंड्ने, मोटरसाईकलको स्वरुप परिवर्तन गरी चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिंड्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने र नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीसँग झै–झगडा गर्ने मोटरसाईकल चालक र सवारी साधनसमेतलार्य नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाही प्रकृया अगाडि बढाईने कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले सवारी साधन धनीलाई आफ्नो सवारी साधन मोडिफाई नगरी असली स्वरुपमा चलाउन र मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस संचालकहरूलार्य उक्त कार्य नगर्न नगराउन अनुरोध गरेको छ । सवारी साधनको मोडिफाई गरी सवारी साधन चलाएको पाईएमा सवारी साधन धनी र उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही गर्नेपनि प्रहरीले चेतावनी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।