सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श गरेका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा विघटित प्रतिनधिसभामा रहेका ६ वटा दलका नेताहरू सहभागी भएका थिए । सो बैठकमा संसद् पुनस्र्थापनाको पक्षमा एमाले स्पष्ट देखिएको छ भने बाँकी दलले चुनावी वातावरण खोजेका छन् । बैठकमा सहभागी नेकपा एमालेका नेता महेश बर्तौलाले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक रहेको बताए । ८ दलले विज्ञप्ति निकालेर असंवैधानिक हो भनिसकेका स्मरण गर्दै उनले त्यसका लागि धन्यवाद दिए । अब पनि संवैधानिक मार्गबाटै निकास निकाल्नुपर्ने बताए । कांग्रेसका नेता श्यामकुमार घिमिरेले प्रतिनिधिसभा विघटन असंवैधनिक रहेको बताए । संवैधानिक मार्गबाट निकास खोज्न सकेको भए राम्रो हुने उनको भनाइ थियो ।
माओवादी केन्द्रका नेता हितराज पाण्डेले जेनजी आन्दोलन इतिहासकै दुर्लभ घटना भएको बताउँदै निकासका लागि परिस्थिति हेर्नुपर्ने भनाई राखे ।नेकपा एकीकृत समाजवादीले पनि चुनावकै पक्षमा आफ्नो मत प्रकट गरेको छ । नेता राजेन्द्र पाण्डेले ८ दलले यसअघि नै आफ्ना कुरा राखेको स्मरण गरे । जसमा २२९ जना सांसद रहेको उल्लेख गर्दै उनले थपे, ‘यो अदालतमा पनि पुगेकै होला । यसकारण दलहरू विघटन विरुद्ध छन भन्ने सन्देश् गएकै छ ।’तथापि, सरकारले चुनावको वातावरण बनाउनुपर्ने उनले बताए ।
जनता समाजपादी पार्टी नेपालकी नेता रेखा यादवले पार्टीले चुनावमा जाने निर्णय गरिसकेको बताइन् । राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जेनजीको माग पूरा गर्न संविधान संशोधन हुनुपर्ने बताए । यदि संविधान संशोधन हुने वातावरण बन्छ भने एउटा कुरा नत्र संसद् पुनस्र्थापनाको कुरा गर्न आवश्यक नरहेको सुझाव दिए ।सबैको कुरा सुनेपछि सभामुख घिमिरेले आफ्नो फरक धारणा नरहेको बताए ।विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलका प्रतिनिधि सहभागी थिए ।
पछिल्ला दिनमा नेपाली कांग्रेस र नेकपा एमाले लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटलाई राजनितीक वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा विगत २५ वर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत…






