नेपालसँग ओमान ३८ रनले पराजित


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०८२ मा प्रकाशित




आइसीसी टी-२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो ।

ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई-दुई विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले दुई छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए ।

ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुईरदुई विकेट लिए ।

यसअघि नै टी-२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ ।

अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।