नेकपा एमालेको जारी केन्द्रीय कमिटीको १० औँ बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
बैठकमा सहभागी केन्द्रीय सदस्यले सर्वपक्षीय राष्ट्रिय सरकारको गठन देखि नेताको सम्पत्ति छानबिनसम्मको माग उठाएका छन् । हालसम्म धारणा राख्ने बहुमत केन्द्रीय सदस्यले पार्टीले जनताका समस्याको सम्बोधन गर्न ढिलाइ गर्न नहुने, जेनजी आन्दोलनपछि बदलिएको मानिसको मन बुझ्न सक्नु पर्ने र नेतृत्व परिवर्तनको मुद्दा अहिले नभएर महाधिवेशनमा उठाउनुपर्ने बताएका छन् । बैठकमा आफ्ना धारणा राख्दै केन्द्रीय सदस्य मोहम्मद हारुनले जेनजी आन्दोलनका नाममा एमालेलाई कमजोर देखाउने प्रयास गलत भएको बताएका छन् । एमालेका सङ्गठन देशदेखि टोलसम्म भएकोले यो पार्टी कमजोर हुन नसक्ने उनको भनाइ छ । हारुनले अहिले नेतृत्व परिवर्तनको बहस गर्न नहुने भन्दै केपी ओलीको नेतृत्व देशलाई अझै आवश्यक रहेको बताए ।
अर्की केन्द्रीय सदस्य मेनुका काफ्लेले २०४८ साल यताका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरिन् । उनले पार्टीले अलग्गै आयोग बनाएर नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने हो भने जेनजी माग पनि सम्बोधन हुने र पार्टीमा समेत शुद्धीकरण हुने भनाइ राखिन् ।केन्द्रीय सदस्य रमेश बडालले मङ्सिरमा महाधिवेशन प्रस्ताव गरे पनि मुलुकको राजनीतिक परिस्थितिले चैतभन्दा यता हुनसक्ने सम्भावना आफूले नदेखेको बताए । केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्व परिवर्तन अहिले बेमौसमको बाजा भएको बताइन् ।उनले नेतृत्वको छनौट महाधिवेशन प्रतिनिधिका हातमा पुगेको भन्दै अहिले जथाभाबी ढङ्गले नेतृत्वको मान मर्दन गर्ने, राजीनामा माग्ने जस्ता विषय उचित नभएको धारणा राखिन् । केन्द्रीय सदस्य महम्मद समिरले केपी ओलीको विकल्प खोज्ने कुरा अहिलेको आवश्यकता नभएको बताए ।
केन्द्रीय सदस्य यज्ञबहादुर सुनुवारले पार्टीको आन्तरिक एकता मजबुद बनाउनु अहिलेको आवश्यकता रहेकोमा जोड दिए । अर्का केन्द्रीय सदस्य महेश बर्तौलाले संसद् पुनस्र्थापना र राष्ट्रिय सरकार गठनमा जोड दिएका छन् ।अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमाथिको छलफलका क्रममा सर्वपक्षीय सरकारको चर्चा पनि केन्द्रिय सदस्यले गरेका छन् ।केन्द्रीय सदस्य महेश बर्तौलाले जेनजी आन्दोलनपछि अलोकतान्त्रिक र असंवैधानिक मार्गतर्फ पुगेको मुलुकको राजनीतिलाई लोकतान्त्रिक मार्गमा फर्काउनु मुख्य विषय रहेको बताए । उनले यस्तो अवस्थामा जनप्रतिनिधिमूलक सर्वोच्च संस्था पनि नहुने हो भने मुलुक भयानक सङ्कटतर्फ जाने भन्दै संसद् पुनस्र्थापना नै आजको मुख्य मुद्दा भएको बताए । संसद् पुनस्र्थापनापछि सर्वदलीय÷सर्वपक्षीय राष्ट्रिय सरकार निर्माण र संविधान संशोधन गर्नुपर्ने बर्तौलाको भनाइ छ ।
बैठकमा आज कम्तीमा १०० जना केन्द्रीय सदस्यले धारणा राख्ने कार्यसूची रहेको छ । हिजोदेखि सुरु भएको बैठक भोलि समापन गर्ने तयारी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा विगत २५ वर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत…






