जेनजी आन्दोलनका बेला भागेका थप ८१ कैदीबन्दी पक्राउ


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज ३०

जेनजी आन्दोलनको मौका छापेर भाग्ने थप ८१ कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचार अन्त्य, सुशासन र नेपोबेबीबिरुद्द जेहाद छाडिएको जेनजी आन्दोलन र त्यसबेला कास्की कारागारमा भएको तोडफोड र आगजनीको मौका छोपेर भागेका कैदीबन्दीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

कास्की प्रशासनले जेनजी आन्दोलनका बेला कारागारमा भएको तोडफोड र आगजनीको मौका छोपेर भागेका कैदीबन्दी तथा थुनुवाहरुलाई असोज २० गते भित्रमा स्वतःस्फूर्त फर्किन अपिल गरेको थियो । तर प्रशासनको अपिलको बाबजुद कैदीबन्दी तथा थुनुवाहरु स्वतःस्फूर्त कारागार नफर्किएपछि कास्की प्रहरीले पक्राउ गरेर कारागारमा बुझाएको जनाएको छ ।

कास्की प्रहरीले जबरजस्ती करणी मुद्दाका १६ जना, लागूऔषध मुद्दाका १६ जना, चोरी मुद्दाका २५ जना, कर्तव्य ज्यान मुद्दाका ८ जना, ज्यान मार्ने उद्योग मुद्दाका ९ जनालाई पक्राउ गरेर कारागारमा बुझाएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अङ्गभङ्ग मुद्दाका १ जना, कुटपिटबाट अङ्गभङ्ग मुद्दाका– १ जना र मानव बेचविखन मुद्दाका १ जनालाई पनि पक्राउ गरेर कारागारामा बुझाइएको छ ।

बाँकी अन्यको पनि खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ । जेनजी आन्दोलन भन्दा अगाडिसम्म कास्की कारागारमा ७ सय ७३ कैदीबन्दी तथा थुनुवाहरु थिए । जसमध्ये पुरुष ब्लकमा ७ सय ३८ जना र महिला ब्लकमा ३५ जना रहेको कारागार स्रोतले जनाएको छ । तीमध्ये हालसम्म ५ सय २१ कैदीबन्दी तथा थुनुवा कारागारमा आइसकेका छन् । बाँकी २ सय ५२ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।