वैदिक सनातन संस्कारअनुसार राजनीति गर्नुपर्छ : वक्ताहरू


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०८२ मा प्रकाशित




बुलिङ्टार, असोज ३०

नवलपुरको बुलिङ्टार गाउँपालिका–३ डाँडाथोकमा वैदिक सनातन हिन्दु धर्म र दुगदिवी (दुर्गा भवानी) को गरिमा तथा महत्व विषयक प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

श्री दत्त नारायण पदम श्रेष्ठ स्मृति प्रतिष्ठान केन्द्र स्याङ्जा र देवाचुली प्राथमिक विद्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख वक्ता समाजसेवी तथा अधिवक्ता महेन्द्रमान व्यथितले वैदिक सनातन धर्म, संस्कृति र संस्कार नेपालको मौलिक पहिचान भएको बताउनुभयो। उहाँले राजनीति पनि त्यही संस्कार र धर्मको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो।

समाजसेवी तथा हिन्दू स्वयंसेवक संघका सहचालक विष्णु प्रसाद पौडेल ‘गुप्तेश्वर’ले वैदिक सनातन धर्म, संस्कृति र संस्कार जनताको जीवनसँग जोडिएको बताउँदै विदेशी धर्म तथा संस्कृतिबाट सचेत रहन आग्रह गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलसिंह जर्गा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक पदमबहादुर पाटा मगर, समाजसेवी देवबहादुर लुङ्गाली मगर, राप्रपाका युवा नेता कुलबहादुर क्षेत्री, कांग्रेस नेतृ कोपिला देवी श्रेष्ठलगायतले धर्म र संस्कृतिको संरक्षणमा जोड दिनुभएको थियो।

कार्यक्रममा विद्यार्थीलाई कपी, कलम र पोशाक वितरण गरिएको थियो। करिब पाँच सय जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा श्रीकृष्ण लीला नृत्य पनि प्रस्तुत गरिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।