नेपाली कांग्रेसको जारी केन्द्रिय समितिको बैठकले महाधिवेशको मिति तोक्न ढिलाई गरेकोमा विशेष महाधिवेशन पक्षधरले आशंका व्यक्त गरेका छन् ।
उनीहरुले अहिलेको केन्द्रीय समितिको म्याद थप्न नहुने बताउँदै,६ बुँदे सुझाव समेत दिएका छन्। नेताहरु गुरुराज घिमिरे, मनोजमणि आचार्य लगायतले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको म्याद थपिने आशंका गर्दै त्यसो गर्न नहुने बताएका हुन् । पत्रकार सम्मेलनमा नेता घिमिरेले पार्टीको महाधिवेशन मिति तोक्न ढिलाइ गरेकोमा नेतृत्वको चर्को आलोचना गरेका छन् । घिमिरेले केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा केन्द्रीय समिति बैठक लम्ब्याएको समेत आरोप लगाए ।‘पार्टी केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा केन्द्रीय समितिको बैठक लम्ब्याएको छ’, घिमिरेले भने, ‘हामी यसरी किन बैठक सारिरहेका छौ, आज जनमानसले प्रश्न गरिरहेको छ ।’ उनले केन्द्रीय कार्यसमिति महाधिवेशन भन्दा उच्च नभएको भन्दै महाधिवेशनको आदेशलाई पालना गर्नुपर्ने बताए ।
उनले नियमित र विशेष महाधिवेशन गर्ने दुईवटा बाटो रहेको र नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक गुरुकुलको प्रचार्य ठान्ने तर मुख्य नेताहरूले नै आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै आक्रोश पोखे । पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री गगन थापानिकट महाधिवेशन प्रतिनिधि आचार्यले समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्न खोजिएको आरोप लगाए । राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको बेला बिलम्ब गर्ने, अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्ने छुट नभएको उनले बताए । आगामी फागुन २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्ने उनले बताए ।
त्यही राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरिएको उनले बताए । पत्रकार सम्मेलनमा आचार्यले हस्ताक्षरकर्ताहरूका तर्फबाट तयार ध्याकर्षणपत्र पढेर सुनाएका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







