मनास्लु पदमार्गमा पर्यटन विकासका सम्भावना, चुनौती र समाधानबारे टान गण्डकीको छलफल


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०८२ मा प्रकाशित




पोखरा, कात्तिक २

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ‘टान’ गण्डकीले मनास्लु पदमार्गमा पर्यटन विकासका सम्भावना, चुनौती र समाधानबारे छलफल गरेको छ । गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामालाई संस्थाको कार्यालय शान्तिपाटन, पोखरामा स्वागत गर्दै सो क्षेत्रमा पर्ने मनास्लु पदमार्गमा पर्यटन विकासका सम्भावना, चुनौती र समाधानबारे टान गण्डकीले छलफल गरेको हो ।

टान गण्डकीले विदेशी तथा स्वदेशी पर्यटकहरूलाई मनास्लु क्षेत्रमा भ्रमणका लागि आवश्यक जानकारी अभाव हुने गरेको तथा त्यहाँ खटिने पथप्रदर्शकहरूले समेत पर्याप्त ज्ञानका साथ पर्यटक डुलाउन नसकिरहेको समस्या गाउँपालिका अध्यक्ष लामा समक्ष राखेको छ । मनास्लु क्षेत्रमा सञ्चालित होटल व्यवसायीहरूले गुणस्तरीय सेवा, स्वच्छ खाना तथा मेनु सुधार गर्नुपर्ने, आकस्मिक दुर्घटनाका अवस्थामा हेली–रेस्क्यु प्रक्रियालाई नेपाल सरकारले अझ सरल र व्यवस्थित बनाउनु पर्ने, पथप्रदर्शक र सहयोगीहरू ९पोर्टर० का लागि पोर्टर सेल्टर निर्माण गर्नुपर्ने आवश्यकता, पदमार्गहरूको मर्मत–सम्भार, सरसफाइ र फोहोर व्यवस्थापनका लागि स्थानीयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्न टान गण्डकीले सुझाव दिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

साथै सो अवसरमा आगामी मे ०९, २०२६ मा ७० औं मनास्लु आरोहण दिवस चुमनुब्री गाउँपालिकामा मनाउने बारेमा पनि छलफल भएको उनले बताए । सो अवसरमा पथप्रदर्शक तथा सहयोगीहरूको सुरक्षा र बीमा व्यवस्थालाई सुदृढ बनाउन पनि आफूहरुले गाउँपालिका अध्यक्ष लामालाई सुझाव दिएको आचार्यले बताए ।

कार्यक्रममा वक्ताहरूले मनास्लु क्षेत्र नेपालको सबैभन्दा आकर्षक हिमाली ट्रेकिङ गन्तव्य मध्येको एक भएको र यो क्षेत्रमा बढ्दो पर्यटक चापले स्थानीय विकास र आयस्रोतमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे । तर, नियमन, सूचना प्रवाह र व्यवस्थापन प्रणाली सुदृढ नहुँदा पर्यटनको दीर्घकालीन लाभ प्राप्त गर्न कठिनाइ भइरहेको पनि उनीहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै टान गण्डकीका अध्यक्ष आचार्यले चुमनुब्री गाउँपालिकाले विदेशी पदयात्रीबाट प्रतिव्यक्ति १ हजार र नेपाली पदयात्रीबाट २ सय उठाउने प्रणालीले पर्यटकहरूलाई झन्झटिलो बनाएको भन्दै यसलाई एकद्वार प्रणालीबाट अनुमति जारी गर्ने व्यवस्था गर्न आग्रह गरे । उनले मनास्लु क्षेत्रको पदमार्गको विकासमा आफूहरु काम गर्न तत्पर रहेको बताए ।

हाल मनास्लु सर्किट विश्वका आकर्षक हिमाली पदयात्रा मार्गमध्ये एकका रूपमा परिचित हुँदै आएको छ । यो मार्गले स्थानीय बासिन्दाको आय–आर्जन, होटल व्यवसाय, हस्तकला तथा यातायात क्षेत्रमा रोजगारी सिर्जना गर्दै गण्डकी प्रदेशको पर्यटन अर्थतन्त्रलाई सबल बनाएको छ । तथापि, मौसम, पूर्वाधार अभाव र व्यवस्थापनको कमजोरीले गर्दा यो सम्भावना पूर्णरूपमा उपयोग हुन नसकेको टान गण्डकीको मूल्यांकन छ ।

कार्यक्रमले मनास्लु क्षेत्रमा दिगो, सुरक्षित र जिम्मेवार पर्यटन विकासको खाका तयार गर्ने दिशामा टान गण्डकीको पहललाई थप सशक्त बनाएको संसथाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।