तनहुँमा सिँचाइ तथा पहिरो नियन्त्रणका लागि रु १५ करोडका योजना सञ्चालन


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०८२ मा प्रकाशित




सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ तथा पहिरा नियन्त्रणका लागि रु १५ करोड बढीका योजना सञ्चालन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा रु १५ करोड ७५ लाखका विभिन्न योजना सञ्चालन गरिएको जानकारी दिएको हो । आयोजना प्रमुख सुपिन्द्र खत्रीले पाँचवटा ठूला आयोजनामा रु तीनरतीन करोड बजेट विनियोजन भएको जानकारी दिए । उनका अनुसार देवघाट गाउँपालिका ५ स्थित दासढुङ्गा त्रिशूली नदी बृहत् लिफ्ट सिँचाइ आयोजना, जरायो खोला नहर सिँचाइमा रु तीन करोड, व्यास नगरपालिका ६ स्थित शिशाघाट उपत्यका लिफ्ट सिँचाइ आयोजनामा रु तीन करोड, भानु नगरपालिका ४ स्थित भानु चुँदी वराह सिँचाइ आयोजनामा रु तीन करोड, शुक्लागण्डकी नगरपालिकास्थित टार बजार संरक्षण कार्यक्रमका लागि रु तीन करोड, देवघाट गाउँपालिका ५ स्थित गलेश्वर आश्रम तातोपानी पहिरो नियन्त्रणका लागि रु तीन करोड बजेट विनियोजन भएको छ ।

यस्तै मर्स्याङ्दी तथा दरौदी नदी नियन्त्रणका लागि रु ७५ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए । कार्यालयले तनहुँसहित लमजुङ, मनाङ र गोरखामा काम गर्दै आएको छ । सुरुमा पालुङटार सिँचाइ आयोजना तथा कुण्डुटार सिँचाइँ योजनालाई कार्यान्वयनमा ल्याउने उद्देश्यका साथ आर्थिक वर्ष २०७५र७६ मा पालुङटार कुण्डुटार सिँचाइ आयोजनाको नाममा स्थापना भएको थियो । आर्थिक वर्ष २०८१र८२ बाट तनहुँ, गोरखा, लमजुङ र मनाङ कार्यक्षेत्र रहनेगरी नाम परिवर्तन गरी सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय गोरखा बनाइएको थियो । चालु आर्थिक वर्ष २०८२र८३ मा स्थानान्तरण भई सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँ भएको छ ।

कार्यालयले चार जिल्लाका विभिन्न सिँचाइ संरचना निर्माण, दरौदी, दोर्दी तथा मस्र्याङ्दी नदी क्षेत्रमा डुबान तथा कटानबाट प्रभावित वा जोखिमयुक्त स्थानमा तटबन्धन, स्पर तथा रिभेटमेन्ट निर्माण, जग्गा उकास, नदी नियन्त्रण, सिँचाइ तथा नदी व्यवस्थापन कार्यका लागि आवश्यक अध्ययन, सर्भेक्षण कार्य गरिरहेको प्रमुख खत्रीले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।