आन्दोलन छाडेर निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्री कार्कीको आह्वान


     एभरेस्ट आवाज    
     कार्तिक १० गते २०८२ मा प्रकाशित




प्रधानमन्त्री सुशीला कार्कीले सडक प्रर्दशनलाई छाडेर, निर्वाचनको तयारीमा जुट्न आह्वान गरेकी छन् ।

छठको अवसरमा आज जारी शुभकामना सन्देशमा उनले सडक प्रर्दशनबाट समस्याको समाधान नहुने बताउँदै, आझ्ना असन्तुष्टिलाई शान्तिपूर्ण तवरले जनताका माझमा राख्न आग्रह गरेकी हुन् ।“सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन” प्रधानमन्त्री कार्कीद्वारा जारी सन्देशमा भनिएको छ, “आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो ।

आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा लिन सुझाव दिदै,उनले भनिन्,“आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।” जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व भएको र सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला भएको सन्देशमा छ ।

छठसहित हाम्रा चाडपर्वहरु सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि भएको र अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो रहेको सन्देशमा भनिएको छ ।

सन्देशमा सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले नेपालीको सांस्कृतिक र सामाजिक रूपमा समेत तराई–पहाड जोड्ने सेतु बनिरहेको उल्लेख छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।