माओवादी केन्द्रसँग, एकिकृत समाजवादीको पार्टी एकता अफ्ठ्यारोमा


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०८२ मा प्रकाशित




नेकपा एकीकृत समाजवादीका नेताहरुले माओवादी केन्द्रसँग पार्टी एकता भएमा विद्रोह गर्ने चेतावनी दिएका छन् ।

अहिलेको परिस्थितीमा पार्टीलाई नै थप शसक्त बनाउनु पर्ने भन्दै, अध्यक्ष माधवकुमार नेपालको आलोचना गरेका हुन् । अध्यक्ष नेपालले जारी केन्द्रीय कमिटीको पूर्ण बैठकमा बहुमतमार्फत् माओवादीसँग मिल्ने निर्णय गर्न लागेपछि नेताहरूले विद्रोहका लागि तयार रहेको बताएका हुन् । केही नेताले पार्टी सुदृढीकरणका लागि पार्टीमा अध्यक्ष नेपाल लगायतका नेताहरूले सम्मानजनक बिदा हुनुपर्ने बताइरहेका छन्।सम्मानित नेता झलनाथ खनालले त पार्टी अध्यक्ष नेपालको राजिनामा नै माग गरेका छन् भने महासचिव घनश्याम भुषालले सम्मानजनक रुपमा नेतृत्व छाड्न सुझाब दिएका छन् । स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्ती एकता गर्नै पर्ने भए माओवादीसँग भन्दा एमालेसँग उपयुक्त हुने बताउँदै आएकी छन् । स्थायी कमिटी सदस्य लक्ष्मण लम्साल लगायतका नेताले नेपालले माओवादीसँग पार्टी मिलाए विद्रोह गर्ने चेतावनी दिएका हुन् ।

माओवादी केन्द्रसँग पार्टी एकताको विपक्षमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ,पोलिटब्युरो सदस्यहरु लक्ष्मण लम्साल, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, धर्म निरौला, महेश रेग्मी, केन्द्रीय सदस्य आरती लामा लगायतका रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।