मधेशमा मुख्यमन्त्री नियुक्तिको विवाद उत्कर्षमा,प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यकक्ष तोडफोड


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०८२ मा प्रकाशित




मधेशमा मुख्यमन्त्री नियुक्तिको विवाद उत्कर्षमा पुगेको छ ।

मधेस प्रदेशमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकार गठन आह्वान नै नगरी नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएपछि भएको विवादले उग्ररुप लिएको छ ।संविधानानुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान नै नगरी काठमाडौं जान्छु भन्दै हिँडेर बाटोमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै प्रदेश प्रमुखविरुद्ध बिभिन्न दलका नेता, कार्यकर्ता आक्रोशित देखिएका छन् ।

आक्रोशित समुहले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरेका छन् भने मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । प्रदेश प्रमुख भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले तोडफोड गरेका हुन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरू समेत तोडफोड गरिएको छ । उनीहरूले प्रदेश प्रमुख कार्यालय अगाडि नाराबाजी समेत गरेका छन् ।

आज बिहानै कांग्रेस सहितका सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् ।एक सांसदले नेपालको राष्ट्रिय झन्डा निकालेर फालेका छन् भने अर्काले कुर्सी फालेका हुन् । झन्डा फाल्ने कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह हुन् । तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति पुगेको छ ।

अस्वस्थ भएकाले उपचारका लागि काठमाडौं जाने भनेर बिहान झिसमिसेमै निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पानस होटलमा पुगेर यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएपछि असन्तुष्ट दलहरु विरोधमा उत्रिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेपछि यही कात्तिक २२ गते प्रदेश सभा बैठकमा राजीनामा घोषणा गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।