गण्डकीका मुख्यमन्त्री पाण्डे चुनावको पक्षमा, चुनाव सफल गराउन गरे अपिल


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०८२ मा प्रकाशित




फाइल तस्विर

सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २४

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फागुन २१ मा तोकिएको आम निर्वाचन सफल बनाउनु प्रदेश सरकारको दायित्व भएको बताएका छन् । गण्डकी प्रदेशसभाको आजदेखि शुरु भएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले भने,‘फागुन २१ गते प्रतिनिधि सभाको चुनाव घोषणा भई संघ सरकारले तयारी गरिरहेको सन्दर्भमा संविधानतः हुने निर्वाचनलाई सफल बनाउनु प्रदेश सरकारको पनि दायित्व हो ।’ उनले उक्त निर्वाचन सफल बनाउनका लागि प्रदेश सभा सदस्यहरु, दलहरु, नागरिक समाज, युवालगायत सबै प्रदेशवासीमा अपिल गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चुनावको पक्षमा उभिए । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरु संसद पुर्नस्थापनाको माग गर्दै हस्ताक्षर संकलनमा लागिरहँदा गण्डकीका मुख्यमन्त्री पाण्डेले चुनाव सफल गराउन आह्वान गरेका हुन् ।

तर नागरिकमा डर, त्रास कायम रहेको भन्दै यो हटाउन सरकार लाग्नु अहिलेको अपरिहार्य आवश्यक्ता रहेकोमा उनले जोड दिएका छन् । ‘नागरिमा देखिएको डर, त्रास हटाएर, शान्त वातावरण, कानूनी राज्यको प्रत्याभूति दिनू आजको प्रमुख आवश्यक्ता हो’–उनले भने । उनले शान्त, सुरक्षित र लगानी मैत्री वातावरण निर्माण गर्न गण्डकी सरकार प्रयासरत रहेको पनि बताए ।

मुख्यमन्त्री पाण्डेले संघीय सरकारले गरेको हस्तक्षेपलाई सच्याएर ल्याइएको दाबी गरे । सरकारी खर्च कम गर्न संघीय सरकारले स्वकीय सचिवहरु हटाउने निर्णय लागु गर्न भन्दै प्रदेशलाई गरेको परिपत्रबारे प्रसङ्ग निकाल्दै उनले भने,‘प्रदेश सरकारको कानूनमाथि हस्तक्षेप हुनेगरी संघीय सरकारको परिपत्रलाई मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग सम्वाद गरि सच्याएर ल्याउन सफल भएका छौं । अब यसलाई प्रदेशको कानून वमोजिम लागु गर्नेगरी अगाडि बढाईने उनले बताए । संघीय सरकारले मुख्यमन्त्री तथा प्रदेश प्रमुखको स्वकीय सचिवबाहेक सबै तथा प्रदेश सभा सदस्यहरुको स्वकीय सचिव खारेज गर्न परिपत्र गरेको थियो ।

मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलनले दल र तीनका नेताहरुलाई गहिरो आत्मसमीक्षाको सन्देश दिएको बताए । युवा पुस्ताको व्यावहारिक आकांक्षा र भावनालाई समेट्दै वैधानिक तथा लोकतान्त्रिक बाटोबाट देशमा आइपरेको संकटलाई दीर्घकालीन समाधान गर्नुपर्ने उनले बताए । तर जेनजी आन्दोलनका क्रममा भएका फौजदारी घटना, आक्रमण, लुटपाट तथा तोडफोडको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए । उनले जेनजी आन्दोलनपश्चात नागरिकमा डर, त्रास बढेको, पर्यटनको राजधानी पोखराका होटल तथा रिसोर्टहरुमा जेनजी आन्दोलनका नाममा भएको तोडफोड तथा आगजनीले लगानीको वातावरण धमिलिएको टिप्पणी गरे । उनले घटनाको जाँचबुझ गर्न गठीत जाँचबुझ आयोगले निश्पक्ष रुपमा छानविन गर्ने विश्वास व्यक्त गरे । साथै उक्त छानविनमा देखिएका दोषीलाई कारवाही गर्नुपर्नेमा उनले जोड दिए ।

बैठकमा उनले जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशमा ३ जनाको ज्यान गएको प्रदेश सभालाई जानकारी गराए । सो क्रममा आन्दोलनकारी र सुरक्षाकर्मी गरी कुल ७० जनाभन्दा बढी घाइते भएको उनले बताए । त्यस्तै, गण्डकी प्रदेशका ७ जिल्लामा रहेका १३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पु¥याएको पनि बताए । उनका अनुसार गण्डकीमा १६१ वटा चार पाङ्ग्रे तथा ३६१ वटा दुई पाङ्ग्रे सवारी साधनमा आगजनी भएका छन् भने ३१ वटा चार पाङ्ग्रे तथा ७ वटा दुई पाङ्ग्रे सवारी साधनमा तोडफोड भएका छन् । ३ वटा दुई पाङ्ग्रे सवारी साधन भने हराएको उनले जानकारी दिए । मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटका कारण सरकारीतर्फ २ अर्ब तथा नीजि तर्फ करीब ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी गराए ।

उनले जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी संरचना पुनर्निर्माण गर्न चालु बजेटबाट विभिन्न शिर्षकमा खर्च कटौती गरी १ अर्ब ५० करोड रुपैयाँ जोहो गरिएको बताए ।

जेनजी आन्दोलका क्रममा पोखरा–३ नदीपुरमा रहेको गण्डकी प्रदेश सभा भवन जलाइएपछि सोमबार पहिलो पटक पोखरा–५ मालेपाटनस्थित प्रदेश कृषि निर्देशनालयमा बैठक बसेको हो । बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले जेनजीका मागहरु जयज भए पनि जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी तथा लुटपाटप्रति आपत्ति जनाएका थिए । उनीहरुले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।