सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २५
नेकपा एमालेका नेता खगराज अधिकारीले जेनजी आन्दोलनमा मारिएकालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गोली हान्ने आदेश दिएको प्रमाणित भए पार्टी विघटन गर्न तयार रहेको बताएका छन् । विघटित प्रतिनिधिसभा पुर्नःस्थापनाको माग गर्दै देशभरका पालिकाहरुमा जनप्रदर्शन गर्ने निर्णय अनुसार नेकपा एमाले पोखरा महानगर कमिटीले मंगलबार पोखरा–३० सिसुवामा आयोजना गरेको जनप्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जेनजी आन्दोलनमा गएका छोरा, नाती पुस्तालाई मार्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आदेश दिएका होईनन्, दिन सक्दैनन्,उनले अगाडि थपे,‘त्यस्तो आदेश तत्कालीन प्रधानमन्त्री ओलीले दिएको प्रमाणित गरे हामी हाम्रो पार्टी नेकपा एमाले विघटन गर्न तयार छौं ।’ गोली हान्ने आदेश प्रधानमन्त्रीले नभई प्रहरी प्रमुखले दिने उनको दाबी थियो ।
एमालेका प्रभावशाली नेता अधिकारीले जेनजी आन्दोलनमा घएको घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले निस्पक्ष छानविन गर्न नसक्ने ठोकुवा गरे । जेनजी आन्दोलनप्रति सकारात्मक र दलहरुप्रति पहिल्यैदेखि नकारात्मक धारणा राख्ने गरेकाले उनी नेतृत्वको समितिले निस्पक्ष छानविन गर्न नसक्ने उनको दाबी थियो । जेनजी आन्दोलनमा भएको विध्वंसप्रति सँधै नकारात्मक धारणा राख्ने गरेका उनले जेनजी पुस्ताले उठाएका मागप्रति भने आफ्नो पार्टी सकारात्मक रहेको उनको प्रष्टोक्ती थियो ।
नेता अधिकारीले संविधानलाई ट्रयाकमा ल्याउन संविधान संसोधन आवश्यक रहेको उनले बताए । त्यसका लागि छोटो समयको लागि भए पनि संसद पुर्नस्थापना हुनुपर्ने उनको भनाई थियो । संविधान ट्रयाकमा ल्याउन संविधान संसोधन जरुरी छ,उनले भने,‘अनि संविधान संसोधन गर्न छोटो समयका लागि भए पनि संसद पुर्नस्थापना गर्नुपर्छ ।’
नेता अधिकारीले जेनजी पुस्ताको माग अनुसार सबै भष्ट्राचार सम्बन्धि काण्डहरुको छानबिन गर्न माग गरे । जेनजी पुस्ताले गरेको माग एमालेले पहिल्यैदेखि गर्दै आएको थियो,उनले भने,‘सो माग अनुसार भ्रष्टाचार सम्बन्धि सबै काण्डहरुको छानविन गरौं, त्यो छानविनको शुरुवात एमालेबाट शुरु होस्, एमालेबाट शुरु गर्दा त्यसको शुरुवात मबाट गरियोस्, म तयार छु ।’ उनले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीबाट भ्रष्टाचारको छानविन गर्न पनि आग्रह गरे ।
नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष जीवनप्रसाद आचार्यले लोकतन्त्रको रक्षा र संविधान जोगाउनका लागि संसद पुर्नस्थापना अनिवार्य शर्त भएको बताए ।
कोण सभाअघि पोखराको तालचोकबाट सुरु भएको ¥याली शिशुवाचोकमा पुगेर सभामा परिणत भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







