आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा एक हजार पाँच सयभन्दा बढी मतदाता थपिएका छन् ।
असोज ९ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता खुला गरिएकामा सोमबारसम्म जिल्लामा एक हजार पाँच सय ९२ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसमध्ये नौ सय ४१ पुरुष र छ सय ५१ जना महिला रहेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । गत मङ्गलबारसम्म जिल्लामा सात सय ६५ जना मतदाता थपिएकामा पछिल्लो पाँच दिनमा दोब्बर मतदाता थपिएको लम्सालले बताए । उनले भने, “केही दिनयता कार्यालयमा मतदाता नामावली दर्ताका लागि अत्यधिक भीड छ । अब केही दिनमात्रै बाँकी रहेकाले अझै बढ्ने अनुमान गरिएको छ ।”
कार्यालयमा नामावली दर्तासँगै ठाउँसारीको काम समेत भइरहेको छ । तनहुँभित्रै एउटा वडाबाट अर्को वडा, एक पालिकाबाट अर्को पालिका र तनहुँबाट बाहिरी जिल्लामा ठाउँसारीका लागि निवेदन दिने पनि रहेको लम्सालले बताए । नयाँ मतदाता नामावली दर्ताका लागि नलाइनबाट वा नागरिक एपबाट फर्म भरी नागरिकता लिएर निर्वाचन कार्यालयमा बायोमेट्रिक दिन सकिने व्यवस्था छ । जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने लम्सालले जानकारी दिए ।
असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता छन् । त्यसमध्ये एक लाख १९ हजार ८९ पुरुष र एक लाख २७ हजार नौ सय १५ महिला रहेको कार्यालयले जनाएको छ । कार्यालयले मतदाता नामावली दर्ता, त्रुटी सच्याउने, ठाउँसारीसँगै अन्य तयारीको कामलाई तीव्रता दिएको छ ।
निर्वाचन अधिकारी लम्सालले जिल्लाभित्र रहेका मतदान केन्द्र, मतदान स्थल थपघट गर्नुपर्ने भएमा त्यसका लागि सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






