जाडो छल्न माथिल्लो मुस्ताङका अधिकांस शैक्षिक संस्था पोखरामा स्थानान्तरण


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०८२ मा प्रकाशित




उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरिएको छ ।

भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने भएकाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूलाई बेँसीमा स्थानान्तरण गरिएको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा तीन सरकारी सामुदायिक र चार वटा धार्मिक गुम्बा विद्यालय सञ्चालनमा छन् । गाउँपालिकाका सामुदायिक र गुम्बा विद्यालय सबै जाडो छल्न बेँसीमा स्थानान्तरण गरिसकिएको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए । लोमान्थाङ गाउँपालिकाको छोन्हुप झिन्जु आधारभूत विद्यालय जाडो छल्न दसैँअगावै बँेसी झरेको र राष्ट्रिय आधारभूत लोमान्थाङ र दिव्यदीप माध्यमिक विद्यालय छोसेर तिहारलगत्तै जाडो छल्न बेँसी झरेको प्रशासन प्रमुख केशीको भनाइ छ ।

लोमान्थाङको छोन्हुप झिन्जु आधारभूतमा ५० जना, राष्ट्रिय आधारभूतमा २० जना र दिव्यदीप माध्यमिक विद्यालयका ६२ जना विद्यार्थीलाई घुम्ती कक्षा चलाउन बेँसीका विभिन्न स्थानमा स्थानान्तरण गरिएको प्रशासन प्रमुख केसीको भनाइ छ । लोमान्थाङको दिव्यदीप माध्यमिक विद्यालयलाई पोखरास्थित विजयपुरमा रहेको निजी विद्यालय भवनमा स्थानान्तरण गरिएको छ । छोन्हुप झिन्जु आधारभूतको पनि पोखरा हेम्जामा रहेको आफ्नै निजी भवनमा घुम्ती कक्षा चलाउन झारिएको हो ।

यसैगरी लोमान्थाङको राष्ट्रिय आधारभूतका २० जना विद्यार्थीलाई पोखरा लेखनाथस्थित तालचोक किमबेँसीमा भाडाको भवनमा स्थानान्तरण गरिएको प्रशासन प्रमुख केशीले बताए । यसैगरी लोमान्थाङ गाउँपालिकाअन्तर्गतका मञ्जुश्री, निफुक नाम्डोल, पाल एण्ड नाम्ग्याल र महाकरुणा धार्मिक गुम्बा विद्यालय पनि आफ्नै खर्चमा घुम्ती कक्षा चलाउन पोखराका विभिन्न स्थानमा रहेको प्रशासन प्रमुख केशीको भनाइ छ ।

हिउँदयामको जाडो मौसममा साविक स्थानमा शैक्षिक पठनरपाठनलाई निरन्तरता दिन कठिनाइ हुने भएकाले माथिल्लो मुस्ताङका विद्यालयलाई घुम्ती कक्षा चलाउन बर्सेनि यसप्रकारको परम्परा रहँदै आइरहेको छ । माथिल्लो मुस्ताङको लोमान्थाङजस्तै लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत तीन सामुदायिक र दुई गुम्बा विद्यालय जाडो छल्न कात्तिक १० गते बेँसीमा झरेको त्यहाँका शिक्षा शाखा अधिकृत प्रचण्ड न्यौपानेले जानकारी दिए । अधिकृत न्यौपानेका अनुसार लोघेकर दामोदरकुण्डको चराङ आधारभूत चराङका १६ जना, घमी आधारभुत घमीका ५६ जना र जनज्योति आधारभूत घिलिङका ८४ जना विद्यालयलाई शिक्षण सिकाइमा निरन्तरता दिनका लागि पोखराका विभिन्न स्थानमा झारिएको हो । चराङ आधारभूतको पोखरा हेम्जामा, घमी आधारभूतको पोखरा विजयपुरमा र जनज्योति आधारभूतको तनहुको शुक्लागण्डकी दुलेगौडामा स्थानान्तरण गरिएको जनाइएको छ ।

वारागुङ मुक्तिक्षेत्रको छुसाङस्थित जननर्मल माध्यमिक विद्यालय गत वर्षसम्म जाडो छल्न बेँसी झर्ने गरेकोमा चालु शैक्षिक सत्रमा घुम्ती कक्षाका लागि बेँसी नझर्ने निर्णय भएको त्यहाँका शिक्षा शाखा अधिकृत रेखा पन्तले जानकारी दिए । तर, कागबेनीस्थित कागछोदे गुम्बा विद्यालय भने घुम्ती कक्षा चलाउन बँेसीमा स्थानान्तरण भएको अधिकृत पन्तको भनाइ छ । माथिल्लो मुस्ताङका सरकारी तथा धार्मिक गुम्बा विद्यालयहरू घुम्ती कक्षाका रूपमा निरन्तर शैक्षिक पठनपाठन चलिरहने छ ।

माथिल्लो दुई गाउँपालिकाका विद्यालय घुम्तीमा झरे पनि वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालय भने हिउँदको पुस र माघ महिना हिउँदे जाडो बिदा दिने गरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।