लोक साहित्य परिषदद्वारा अमात्य र बज्राचार्य पोखरामा सम्मानित


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०८२ मा प्रकाशित




लोक साहित्य परिषद ललितपुरले पोखराका अग्रज पत्रकार उदय बहादुर अमात्यलाई सम्मान गरेको छ ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले स्थापना गरेका परिषदले भाषा, कला, साहित्य र संस्कृतिमा पत्रकारीताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै अग्रज पत्रकार अमात्यलाई सम्मान गरेको हो । परिषदले शनिबार पोखरामा आयोजना गरेको सम्मान तथा साहित्य सम्मेलनमा प्रमुख अतिथि नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले अमात्यलाई सम्मानपत्र सहित दोसल्लाले सम्मान गरेका हुन् । सोहि कार्यक्रममा संस्कृतिविद् डा चन्द्रा बज्राचार्यलाई पनि सम्मान गरिएको छ ।भाषा, कला, साहित्य तथा संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गदै सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले उपत्यकाबाट पोखरामा आएर यहींको व्यक्तित्वलाई सम्मान गर्ने अवसर प्रदान गरेकोमा आभार व्यक्त गरे । अमात्य र डा बज्राचार्य सबैका प्रेरणाका श्रोत भएको बताउँदै, उनले पोखरा सांस्कृतिक, कला, साहित्य, पर्यटन लगायतका धेरै विषयले परिचित ठाउँ रहेको बताए । उनले नेवारी कला, संस्कृतिको पक्ष विभाजन नभई सबै नेवारी समुदाय एकता सुत्रमा बाँधिनु पर्नेमा जोड दिए ।

साहित्यकार, संस्कृतिकर्मि तीर्थ श्रेष्ठले सत्यमोहन जोशीसंगका बसाईको अनुभव सुनाउँदै,, लोक साहित्य परिषदले पोखरासम्म जोडेको साहित्यिक, सांस्कृतिक सम्मानको नाता सह्रायिन भएको बताए । सम्मानित पत्रकार उदय बहादुर अमात्यले निरन्तर भाषा, कला, साहित्यलाई पत्रकारितासंग जोडेको २६ वर्ष बितेको बताए । उनले विशेष गरी पोखराबाट प्रकाशित हुने गण्डकीको एकमात्र नेपाल भाषा मासिक पत्रिका पोखराया भिन्तुनामा नेवारी भाषा, कला, साहित्य, संस्कृतिका गतिविधिलाई समेट्दै आएको बताए । अर्की सम्मानित व्यक्तित्व चन्द्र बज्राचार्यले पोखरामा आएर लोक साहित्य सम्मान पाउँदा हर्षविभोर भएको बताईन् ।

सो अवसरमा भएको साहित्यिक रचना वाचनमा विमलप्रभा बज्राचार्य, जमुना कायस्थ, नरेश अमात्य, मेरिना वैद्य, शरद कसाः, दिव्या बज्राचार्य, अञ्जना ताम्राकार लगायतले कविता, गजल सुनाएका थिए । परिषदकी चन्द्रा व्यञ्जनकारले पर्यटकीय नगरि पोखरामा कार्यक्रम गर्न पाउँदा र नेवा खलः कास्कीको आतिथ्यताका लागि आभार व्यक्त गरिन् । शान्तराज शाक्यले सम्मानित व्यक्तित्व अमात्य र डा। बज्राचार्यको परिचय प्रस्तुत गरेका थिए ।

यसअघि कार्यक्रमका सहभागिलाई परिषदकी सदस्य विमलप्रभा बज्राचार्यले स्वागत गरेकी थिईन् । कार्यक्रम परिषदका अध्यक्ष राजित श्रेष्ठको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।