प्रतिभा माविमा स्पोर्टस् मीट शुरु


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०८२ मा प्रकाशित




पोखरा, मंसिर ३

पोखराको नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको स्पोर्टस् मीट २०८२ सुरु भएको छ । स्पोर्टस् मीटको प्याव्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले आज एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले खेलकुदले विद्यार्थीलाई सामुहिक भावनाको विकास, प्रतिस्पर्धात्मक क्षमताको विकास, अनुशासन पालना गर्न सघाउने बताए । उनले प्रतिभा माविले शिक्षासँगै खेलकुदलगायतका क्षेत्रमा गरेको प्रगतिको प्रशंसासमेत व्यक्त गरे ।

विद्यालयका प्राचार्य किरण सापकोटाले स्वागत मन्तव्य राख्दै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पोख्त बनाउन प्रत्येक वर्ष स्पोर्टस् मीट आयोजना गर्ने गरेको बताए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले शिक्षासँगै खेलकुद, संगीत, विज्ञानलगायतका क्षेत्रमा विद्यार्थीको रुची बढाउन, प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न विद्यालयले आफ्नो क्षेत्रबाट प्रयास गरिरहेको बताए ।

विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख प्रकाश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहप्राचार्य प्रदीप खनालले हाउस क्याप्टेनहरुलाई सपथ खुवाएका थिए ।

मंसिर १९ गतेसम्म चल्ने स्पोर्टस् मिटमा व्यक्तिगत स्पर्धातर्फ कक्षागत रुपमा दौडलगायतका प्रतिष्पर्धा तथा सामुहिक स्पर्धातर्फ अन्तरसदनात्मक रुपमा बास्केटबल, भलिबल, फुटबल, रिले दौडलगायतका प्रतिस्ष्पर्धा हुने विद्यालयले जनाएको छ । सामुहिक स्पर्धामा हरियो, रातो, पहेंलो र निलो सदन गरी सञ्चालन हुने प्रतियोगितामा विद्यालयका मन्टेश्वरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्ने विद्यालयका सहायक प्रधानाध्यापक प्रदीप खनालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।