नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गिएको छ ।
महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलका अनुसार ओखलढुङ्गा र धनकुटाबाहेक सबै भूगोल, गैरभूगोलको प्रतिनिधि छनोट सकिएको छ । उनले ती दुई जिल्लामा पनि चार दिनभित्रमा प्रतिनिधि निर्वाचन गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिए । केही जिल्लामा प्रतिनिधि छनोट विधिअनुसार नभएकाले छानबिन भइरहेको उनले बताए । सचिव ढुङ्गेलले सबै जिल्लाबाट छनोट गरिएका प्रतिनिधि प्रदेश कमिटीको कार्यालयमा विवरण सङ्कलन भइरहेको जानकारी दिए ।
“प्रतिनिधिका विवरण प्रदेश कमिटीमा महाधिवेशन शुल्कसहित सङ्कलन भइरहेको छ”, उनले भने, “एक दुई दिनमा सवै प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा आउने छ र हामीले उक्त प्रतिनिधि कार्ड बनाएर वितरण गर्ने छौँ ।” महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् ।
महाधिवेशनमा सहभागी हुने आयोजकलाई तीन हजार र प्रतिनिधिलाई रु दुई हजार शुल्क तोकिएको छ । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ । एमालेमा अध्यक्षका लागि केपी शर्मा ओली र हालका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । महासचिवमा पनि हालका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ , प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, गोर्कण विष्ट लगायतका नेताले आकांछा देखाएका छन् ।
हालका उपाध्यक्ष विष्णु पौडेलले भने आफू अध्यक्ष र महासचिवको उम्मेदवार नहुने बताएका छन् । उनले पार्टी जीवनमा आफूले कुनै पनि जिम्मेवारीका लागि इच्छा व्यक्त नगरेको दाबी समेत गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







