पर्यटक घट्दा बेगनास तालका डुङ्गा व्यवसायी सङ्कटमा


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०८२ मा प्रकाशित




बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश वर्षयता घट्दो क्रममा देखिएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायी चिन्तित बनेका छन् । पोखराको बैदामस्थित फेवातालमा आउने पर्यटक पनि बेगनास तालमा न्यून मात्रामा पुग्ने गरेपछि डुङ्गा व्यवसायी सङ्कटमा परेका हुन् ।

सार्वजनिक बिदाका दिन बेगनास तालमा घुम्न आउने आन्तरिक पर्यटक केही मात्रामा देखिए पनि विदेशी पर्यटक दुई–चार जना मात्र देखिने गरेका बेगनास तालमा ३७ वर्षदेखि डुङ्गा व्यवसाय गर्दै आएका मेघनाथ तिवारी बताए । विसं २०७२ को भूकम्पसँगै बेगनास तालमा आउने पर्यटकको सङ्ख्या घट्दै गएको जनाउँदै उनले कोरोनाका साथै विभिन्न घटनाक्रम र सडकका कारण त्यो सङ्ख्या बढ्न नसकेको धारणा राखे । वर्षौँदेखि थला परेको डुङ्गा व्यवसायमा पछिल्ला केही वर्षयता सुधार हुने आशा गरिए पनि मुग्लिङ–पोखरा, तालचोक–बेगनास सडक पुनर्निर्माणका कारण यहाँ पुग्ने पर्यटकको सङ्ख्या घटेको बेगनास तालका डुङ्गा व्यवसायी सोमराज कँडेलले गुनासो गरे ।

बेगनास ताल डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले डुङ्गा व्यवसायबाट दैनिकी नचलेपछि तीस प्रतिशत व्यवसायीले विकल्पका रूपमा अन्य पेसा रोजेका बताए । “बाँकी रहेका व्यवसायी पनि व्यवसायसँगै अन्य काममा समेत संलग्न हुने गरेका छन्”, उनले भने । पोखरा महानगरपालिका–३१ मा रहेको बेगनास तालमा आन्तरिक पर्यटक नौका विहार र माछाका परिकार खान पुग्ने गर्छन् । माछाका परिकारका लागि बेगनास ताल वर्षौँदेखि प्रसिद्ध मानिँदै आएको छ । “यतिबेला सबै डुङ्गा सञ्चालनमा छैनन्, आलोपालो गरी चलाउने गरिएको छ”, डुङ्गा व्यवसायी कँडेलले भने ।

पोखराको दोस्रो ठूलो बेगनास ३७३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ २८० वटा डुङ्गा सञ्चालनमा छन् भने करिब २०० जना डुङ्गा व्यवसायी छन् । “व्यवासयीले डुङ्गाको पालो कुर्न एक साता पर्खनुपर्छ । महिनाको रु तीन हजारले परिवार कसरी चल्न सक्छ”, पूर्वअध्यक्ष कँडेलले प्रश्न गरे । बेगनास तालमा एक घण्टा नौका विहार गरेबापत व्यवसायीले रु ७०० र पाइडलबोटको रु एक हजार ५०० लिने गरेका बेगसान डुङ्गा व्यवसाय समतिका अध्यक्ष रविराज कँडेलले जानकारी दिए । “तालमा तीनवटा मोटरबोट भए पनि ती मोटरबोट बराह मन्दिरमा जानआउनका लागि मात्र प्रयोग हुन्छन्”, उनले भने ।

डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृङ्खला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरीडाँडाको मनोहर दृश्यावलोकन गर्न सकिन्छ । बेगनास तालमा विसं २०३७ देखि व्यावसायिक रूपमा डुङ्गा सञ्चालन हुँदै आइएको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।