एमालेको राष्ट्रिय महाधिवेशनमा २ हजार १५४ प्रतिनिधि सहभागी हुने,महाधिवेशनमा नीतिको बहस हुनुहुँदैनः उपमहासचिव ज्ञवाली


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०८२ मा प्रकाशित




नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन २ हजार १५४ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो । बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरि २ हजार १५४ जना प्रतिनिधि सहभागी हुनेगरी टुंग्याइएको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय सल्लाहाकार परिषदका ३०९ जना सदस्यहरुको पनि महाधिवेशनमा सहभागिता रहनेछ ।

यसैबिच महाधिवेशन आउन ३ दिन मात्र बाँकी रहँदा गुटगत भेला र छलफल तिब्र पारिएको छ ।अध्यक्षमा केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बिच प्रतिस्पर्धा हुने भएपछि छुट्टाछुट्टै भेलाले तिब्रता पाएको हो ।एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनमा नीतिको बहस गर्नु सान्दर्भिक नभएको बताएका छन् । उनले आसन्न महाधिवेशनलाई नेतृत्व चयनमा केन्द्रित गर्न र त्यसका लागि सहमतिको हरसम्भव प्रयत्न गर्न सुझाव दिएका छन् । सचिव गोर्कण विष्टले १० औँ महाधिवेशनपछि पार्टीले गरेको निर्णय र कामबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा लागेका कार्यकर्ता पाखामा परेको बताएका छन्।

उनले पार्टी निर्माणमा योगदान गर्नेहरू पाखा पारिँदा एमाले अहिलेको संकटमा पुगेको बताए।एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि सुरु हुँदैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।