नेपाल उद्योग परिसङ्घले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने भएको छ ।
उद्योगमा कार्यरत श्रमिकको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यका साथ परिसङ्घ र सामाजिक सुरक्षा कोषबीच सोसम्बन्धी समझदारी भएको छ ।समझदारीअनुसार परिसङ्घले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउने र श्रमिकलाई योजनामा आबद्ध गराउन प्रोत्साहन गर्ने भएको छ ।परिसङ्घका महानिर्देशक डा घनश्याम ओझा तथा कोष कार्यकारी निर्देशक कविराज अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सो साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यवहारिक र पहुँचयोग्य बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोष श्रमिकको जीवन सहज र सुरक्षित बनाउने एक महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस समझदारीले सबै क्षेत्रका श्रमिक र रोजगारदाताको सक्रिय सहभागिता अभिवृद्धि गर्न तथा दर्ता प्रणालीमा समाहित हुन सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।कोषका कार्यकारी निर्देशक अधिकारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजान र श्रमिकका सुविधालाई विस्तार गर्दै लैजान यो सहकार्य महत्वपूर्ण रहेको बताए ।कोषमा हालसम्म २२ हजार ४५३ रोजगारदाता सूचीकृत भएका छन् ।
मङ्गलबारसम्म सामाजिक सुरक्षा योजनामा औपचारिक क्षेत्रका छ लाख ५४ हजार ५४४, वैदेशिक क्षेत्रका २० लाख १७ हजार २८८, अनौपचारिक ८०३, स्वरोजगार क्षेत्रका ६२४ गरी कूल २६ लाख ७३ हजार २५९ श्रमिक समेटिएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






