प्रधानमन्त्री सुशीला कार्कीले नेपालका विश्वविद्यालयका कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको बताएकी छन्।
आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै काठमाडौँ विश्वविद्यालयकी कुलपति समेत रहेकी उनले कुलपति बनाउने विषयमा गम्भीर भएकाले विश्वविद्यलायका उपकुलपतिसहित उच्च नेतृत्व तथा अन्य सरोकार भएकासँग परामर्श गरी सरकार गृहकार्यमा जुटेको बताएकी हुन् । प्रधानमन्त्री कार्कीले पछिल्लो समय प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताउँदै सोहीअनुसार शिक्षामन्त्री महावीर पुनले सरोकार भएका निकायका प्रतिनिधिसँग आवश्यक छलफल, परामर्श र गृहकार्य गरिरहनुभएको जानकारी दिईन् । प्रधानमन्त्री कार्कीले भनिन्, “ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ ।” यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्ने विश्वास लिइएको उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले युवाहरूको बदलिँदो सोचअनुरूप नयाँ राजनीतिक परिस्थितिमा आफू प्रधानमन्त्री बनेको उल्लेख गर्दै गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकभित्रै सम्बोधन हुनेपर्ने राष्ट्रिय आकाङ्क्षा आमनागरिकको रहेको जेनजी आन्दोलनले प्रष्ट पारेको धारणा राखिन् । नेपालको उच्च शिक्षाका क्षेत्रमा पनि आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० र भर्चुअल रियालिटी प्रविधिको विकास भएको जनाउँदै प्रधानमन्त्री कार्कीले युवामा परिवर्तनका आकाङ्क्षा देखिनु स्वभाविक भएको बताईन् । उच्च शिक्षामा नेपालको लगानी न्यून रहँदै आएको बताउँदै लगानी नबढाई ती आकाङक्षा पूरा गर्न सम्भव नभएको उनले जनाईन् ।
प्रधानमन्त्री कार्कीले लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको आवश्यकता हो भन्दै शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षाको क्षेत्रलाई निरन्तर असर पारेकाले सरकारले केही ठोस कदम चालेको बताईन् । उनले नेपालको उच्च शिक्षालाई सुधार गर्न केयूले गरेका सकारात्मक पहल र ढाँचालाई अन्य विश्वविद्यालयले समेत अनुशरण गर्नुपर्नेमा जोड दिईन् । समारोहमा विभिन्न विधाका दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







