एमालेमा तीन महिनामै विधान महाधिवेशनको निर्णय संशोधन, पदाधिकारीको संख्या १९, बरिष्ठ उपाध्यक्ष हट्यो


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०८२ मा प्रकाशित




नेकपा एमालेले पार्टी कमिटीलाई पुरानै संरचनामा फर्काएको छ ।

दोस्रो विधान महाधिवेशनको तीन महिनामै नेतृत्वको संख्या फेरबदल गरिएको हो। आज बिहान बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधनको निर्णय गरेको हो । अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ९पोलिटब्युरोको एक तिहाई, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बनाउने निर्णय भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको छ । सो निर्णयप्रति वरिष्ठ उपाध्यक्ष पोखरेलले विमति जनाउँदै बैठकमा सम्बोधन गरेका छन् ।पोखरेललगायतका केही नेताले विधान महाधिवेशनबाट पारित विषयलाई नचलाउन माग गरेका थिए ।उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि संशोधन गर्ने नै भए २ कार्यकाल र ७० वर्षे उमेर हद हटाउनुपर्ने बताएका थिए ।

यस अघि बैठकको शुरुवात गर्दै अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताएका थिए ।

बैठकमा महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।