सडक महोत्सवको प्रचार गर्दै पोखरेली चितवनमा


     एभरेस्ट आवाज    
     पौष १ गते २०८२ मा प्रकाशित




पोखरा सडक महोत्सवको प्रचारप्रसार गर्दै पुर्व कोशी प्रदेश पुगेका पर्यटन तथा होटल व्यवसायी चितवन फर्किएका छन् ।

पर्यटन क्षेत्रको विकासका लागि पोखरामा यही पुस १३ गतेदेखि १७ गतेसम्म फेवाताल किनारमा सडक महोत्सव आयोजना हुँदै छ । सोही महोत्सवको प्रचारप्रसारका लागि पोखराका पर्यटन व्यवसायी चितवन आइपुगेका हुन् । महोत्सवको प्रवर्द्धन गर्न व्यवसायीको टोली इटहरी, विराटनगर, जनकपुर हुँदै चितवन आइपुगेको हो ।२७औँ पोखरा सडक महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग गर्ने कार्यक्रमका संयोजक बसन्त गौतमले जानकारी दिए ।

पोखरा महानगरपालिका र रेवान पोखराको संयुक्त आयोजनामा गर्न लागिएको महोत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई समेत टेवा पु¥याउने उनको विश्वास छ । क्रिसमस र नयाँ वर्षको अवसरमा विदेशी पर्यटक नेपालमानै बसेर रमाउन सक्ने वातावरण बनाउनका लागि महोत्सव फलदायी हुने अपेक्षा आयोजकले लिएको उनले बताए ।महोत्सवमा स्वादको उत्सव, संस्कृतिक कार्यक्रम, साहसिक तथा खेलकुदका गतिविधि, शैक्षिक तथा प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिने आज चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

पोखरामा रहेका होटलमा ४० हजार वेड रहेको र पाउनलाई व्यवस्थापन गर्न सक्नेगरी व्यवस्था मिलाइएको आयोजकको भनाइ छ । पाँच लाख पर्यटक भित्र्याउने गरी योजना बनाएर महोत्सवको प्रचारप्रसार गरीएको गौतमले बताए । उनले भने, “जेनजी आन्दोलन पछि सुस्ताएको पर्यटन व्यवसायलाई केही टेवा पुग्ने लक्ष्यका साथ लागेका छौँ ।”

एउटा जिल्लामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई अर्को जिल्लामा तान्न सकेमा दुबै जिल्लाको अर्थतन्त्र चलायमान हुने सो अवसरमा जानकारी दिइएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।