पोखरामा भइरहेको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता वर्षाले प्रभावित

- शुक्रबारसम्मको नतिजालाई आधार मानेर बिजेता घोषणा गर्ने तयारी


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, चैत ७

वर्षाका कारण पोखरामा भइरहेको अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता प्रभावित भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पाँच वर्षपछि पोखरामा भइरहेको ‘२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण प्रभावित भएको हो । विहीबारदेखि शुरु भएको पुरुष, महिला र समूहगत खेल प्रतियोगिता शुक्रबार दिउँसोसम्म जारी थियो । तर अपराह्नदेखि निरन्तर वर्षा भएपछि खेल सञ्चालन हुन नसकेको प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिए । प्याराग्लाईडिङ उडानका लागि घामको ताप र हावाको चापको दुबै अनुकुल चाहिन्छ । तर वर्षाका कारण अनुकुल वातावरण नभएपछि खेल प्रभावित भएको उनको भनाई छ ।

शनिबार सम्पन्न हुनुपर्ने प्रतियोगिता निरन्तर वर्षाका कारण प्रभावित भएपछि हालसम्म पाएको नतिजालाई आधार मानेर बिजेता घोषणा गर्ने तयारीमा आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) जुटेको छ । मौषम बदलिने पूर्वअनुमानका आधारमा आयोजकले बुधबार अभ्यास खेल सञ्चालन गरेको थियो । मौषमले साथ नदिएको खण्डमा सो अभ्यास खेलमा पाएको अंकलाई पनि प्रतियोगितामा जोड्ने पूर्व योजना अनुसार नै सो उडान गरिएको थियो । त्यसैले आज अपराह्नसम्म पनि खेल सञ्चालन नभए विहीबार र शुक्रबार भएको उडान र अभ्यास खेलमा पाएको अंकलाई जोडेर प्रथम, द्वितीय र तृतीय घोषणा गर्ने तयारी भएको संयोजक भट्टराईले बताए । हामी मौषम खुल्ने आशामा बसिरहेका छौं,उनले भने,‘अपराह्न ५ बजेसम्म पनि खुलेन भने अहिलेसम्म पाएको अंकलाई नै आधारमा बिजेता घोषणा गर्छौं ।’

च्याम्पीयनसीपका लागि प्रतियोगी खेलाडी पाइलटले सराङ्कोटबाट (टेकअफ) उडान र खपौंदीमा ल्याण्डिङ (अवतरण) गर्ने क्षेत्र तोकिएको छ । एक्कुरेसी प्रतियोगीता भएकाले खेलाडीहरुले अवतरण गर्दा तोकिएको क्षेत्रमै गर्नुपर्छ । त्यसका लागि रेखाङ्कन गरेर क्षेत्र बनाइएको छ । रेखाङ्कन विन्दुको नजिक ल्याण्डिङ गरेको आधारमा प्रथम, द्वितीय र तृतीय हुने उनले बताए ।

५ वर्षपछि भएको प्रतियोगितामा ५ देशका ५२ पुरुष र १० महिलासहित कुल ६२ जना खेलाडी पाइलट सहभागी छन् । प्रतियोगितामा नेपाल, भारत, चीन, फ्रान्स र जर्मनीका प्याराग्लाईडिङ पाइलटहरु प्रतिष्पर्धीका रुपमा सहभागी रहेको उनले बताए ।

साहसिक खेलको विकास गर्दै पर्यटनको राजधानी पोखराको पर्यटन प्रवद्र्दन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ‘ना’का अध्यक्ष अनिल केसीले बताए । ‘यसले सहसिक खेलको विकास गर्नेछ गर्दै पर्यटन प्रवद्र्दनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने हामीलाई विश्वास छ’–उनले भने ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई एक लाख र तृतीय हुनेलाई ५० हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने ‘ना’का अध्यक्ष अनिल केसीले जानकारी दिए । त्यस्तै, महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने उनले जानकारी दिए । यसैगरी, समूहगत प्रतिष्पर्धामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष केसीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।