फाइल तस्विर
सन्देश श्रेष्ठ
पोखरा, चैत १७
गण्डकी प्रदेश सरकारको कार्य प्रगति गत वर्षको तुलनामा घटेको छ । पछिल्लो साढे ८ महिनामा गण्डकी सरकारको आर्थिक प्रगति गत वर्षको तुलनामा ६ प्रतिशतले घटेको हो । गण्डकी प्रदेश सरकारले गत वर्ष चैत १६ गतेसम्ममा २९ प्रतिशत कार्य प्रगति गरेको थियो । तर यस वर्ष सो अवधीमा प्रदेश सरकारले पुँजीगत र चालु गरेर कुल २३ प्रतिशत मात्र आर्थिक प्रगति गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार प्रदेश सभालाई जानकारी गराए । सदनलाई सम्बोधन गर्दै उनले भने,‘धेरै नै कम त होईन, तर अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत आर्थिक प्रगति कम छ ।’
यद्वपी असार मसान्त सम्ममा गत वर्षको प्रगति भेट्नेगरी काम गर्ने प्रयास भइरहेको उनले बताए । वित्तीय प्रगति भनेको काम सकिएपछि सरकारले भुक्तानी गरेपश्चात देखिने प्रगती भएकाले दोस्रो चौमासिक चैत मसान्तमा भएकाले त्यसबेलासम्म आर्थिक प्रगती थपिने उनको भनाई छ । विकासको प्रक्रिया जारी छ,उनले भने,‘पूर्वाधार निर्माणको ठेक्का जाने प्रक्रिया भइरहेको छ । ठेक्कामा गइसकेपछि वित्तीय प्रगती र भौतिक प्रगती दुबै बढ्छ ।’ उनले गत आर्थिक वर्षकोजति प्रगति भेट्ने प्रयासमा सरकार रहेको बताए । भने,‘विश्वास र आशा छ कि गत वर्षको वित्तीय र भौतिक प्रगति भेट्छौं भन्ने लाग्छ । त्यो भेट्नेगरी नै कार्यहरु भइरहेका छन् ।
मुख्यमन्त्री पाण्डेले सरकारको कार्यप्रगति खुम्चिनुमा चुनावलगायतका कारण रहेको औंल्याए । गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका कारणले आचारसंहिता लागुहुँदा झण्डै डेढ महिना कुनै पनि ठेक्का पट्टादेखि लिएर बहुवर्षीय निर्णयहरुको काम नहुँदा त्यसको असर प्रगतिमा परेको उनको प्रष्टिकरण छ । ‘चुनावका कारणले आचारसंहिता लागु भयो । जसका कारण डेढ महिना कुनै पनि ठेक्का पट्टालगायतका काम गर्न पाएनौं । जसको प्रभाव कार्यप्रगतिमा पर्यो ।’ अर्कोचाहिं ठेक्का लागेर भइसकेका र भइरहेका कामको भुक्तानी गर्न बाँकी रहेकाले पनि कार्यप्रगति कम देखिएको उनले तर्क गरे । भने,‘भइरहेका कामको भुक्तानी चैत मसान्तमा हुने भएकाले त्यसको प्रगति बल्ल देखिन्छ ।’
मुख्यमन्त्री पाण्डेले गण्डकी सरकारले राजश्व संकलनमा राखेको लक्ष्य पनि भेट्न मुश्किल रहेको जानकारी गराए । भदौ २३ र २४ को विध्वंशले त्यो लक्ष्य पूरा हुन नसक्ने देखिएको उनको भनाई छ । अघिल्लोवर्ष पनि राजश्व संकलनको लक्ष्य भेटिएको थिएन,उनले अगाडि थपे,‘झन् यसपाली त भदौ २३ र २४ को विध्वंशले त्यो लक्ष्य पूरा हुन नसक्ने देखिएको छ ।’ उनले सो लक्ष्य पूरा गर्न प्रदेश सभामा रहेका सबै दलहरुको ऐक्यबद्दता र साथ आवश्यक परेको बताए । उनले आवश्यक राजश्वको लक्ष्य पूरा नहुने भएपछि त्यसका कारण आगामी वर्षको बजेटको आकार पनि घट्ने अवस्था देखिएको बताए । एक त राजश्व संकलनको लक्ष्य नै नभेटिने देखियो,उनले भने,‘अर्कोतर्फ संघ सरकारले दिने अनुदान पनि घट्ने देखिन्छ, जसले गर्दा गण्डकी सरकारको बजेटको आकार घट्ने अवस्था छ ।’
मुख्यमन्त्री पाण्डेले संघ सरकारले एक सय शासकीय सुधारमा गण्डकी सरकारले पहिलेदेखि नै अभ्यासमा ल्याएका सुशासन र मितव्यीयताको काम राखेको बताए । यसले आफूहरुलाई उत्साहित बनाएको बताउँदै उनले भने,‘संघ सरकारले अहिले सुशासन र मितव्ययीता अप्नाउनेगरी एक सय शासकीय सुधारका कार्यक्रम ल्याएको छ । जुन कुरा गण्डकीमा हामीले पहिलेदेखि गर्र्यौं । त्यहि अन्तर्गत कार्यालय मर्ज गर्र्यौ । दरबन्दी कटौती गर्यौं । यहि नै अहिलेको बालेन सरकारले सयबुँदे शासकीय सुधारमा परेको देखेर हामी उत्साहित भएका छौं ।’
मुख्यमन्त्री पाण्डेले संघ सरकारले राजश्वको श्रोतको पहिचान र बिस्तारसँगै लगानीकर्ताहरुलाई आकर्षित गर्ने भनेर शासकीय सुधारको बुँदामा राखेकाले यसले संघ सरकारसँग सहकार्य गर्न सहज बनाउने बताए । ‘किनकी यो कुरा हामीले पहिलेदेखि नै भन्दै र गर्दै आइरहेका थियौं, त्यसैले संघ सरकारले पनि त्यसैलाई अगाडि बढाएपछि सहकार्य गर्न सहज हुने देखिएको छ’–उनले भने । त्यस्तै, गण्डकी प्रदेशको राजधानी पोखरालाई वेलनेस सेन्टरका रुपमा विकास गर्ने भनेको र अहिले आएर संघ सरकारले पनि त्यसैलाई अघि बढाएकाले यसले आफूहरुलाई थप हौषला मिलेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







