पोखरामा अवैध ट्रान्सपार्टी, विदेशीसहित ३८ पक्राउ


     एभरेस्ट आवाज    
     चैत्र १७ गते २०८२ मा प्रकाशित




पोखरा, चैत १७

पोखरामा कानूनी रुपमा अवैध रहेको ट्रान्सपार्टी सञ्चालन भएपछि प्रहरीले छापा मारेको छ । पोखरा महानगरपालिका–१८ सेदीस्थित जंगल नजिकको एकान्त घरमा नेपालको कानूनले बन्देज लगाएको ट्रान्सपार्टी सञ्चालन भएपछि प्रहरीले छापा मारेर ३८ जना युवायुवतीलाई पक्राउ गरेको छ ।

मध्यरातमा छापा छापा हान्दा ट्रान्सपार्टीबाट ३८ जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए । पोखरा–१८ निवासी कृष्ण पराजुलीको पुरानो घरमा बमेन्द्र पुनसहितको टोलीले भाडामा लिएर ट्रान्सपार्टी आयोजना गरेको स्रोतले बताएको छ । ट्रान्सपाटीमा लागुऔषध समेत बिक्री वितरण र सेवन गरेको पाइएको कास्की प्रहरीले जनाएको छ ।

मध्यरातमा छापा मार्दा निर्वाध रुपमा लागुऔषध सेवन र बिक्री वितरण गरेको पाइएको एसपी कार्कीले बताए । उनले भने, ‘घरको चारैतिर घेरा हालेर छापा मारेका हौँ। स्वदेशी र विदेशीलाई त्यहाँबाट पक्राउ गरिएको छ ।’

प्रहरीले पक्राउ गरेका मध्ये ८ जनाको साथबाट लागुऔषध फेला पारेको जनाएको छ । लागुऔषध बोक्नेमध्ये ६ जना विदेशी र २ जना स्वदेशी युवायुवती रहेको उनले बताए । खानतलासी गर्दा आठ जनाको साथबाट लागुऔषध फेला परेको एसपी कार्कीले जानकारी दिए । उनीहरुको साथबाट एमडीएमए, चरेस, कोकिनजस्तो देखिने सेतो धुलो, खात, खैरो हेरोइन जस्तो पदार्थ, ‘आइस’ (एम्फेटामिन जस्तो देखिने पदार्थ), गाँजा, म्याजिक मसरुम, एलएसडी (लाइसर्जिक एसिड डाइथाइलामाइड) कागज र तरल फेला परेको उनले बताए । प्रहरीले पक्राउ परेका युवायुवतीबाट लागुऔषधबाहेक नगद र मोबाइलन समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका मध्ये चार जनालाई अभद्र मुद्दासमेत चलाइने उनले जानकारी दिए ।

प्रहरीले ट्रान्सपाटीबाट भारतीय नागरिक ३१ वर्षीया श्रृष्टी चन्द र ३५ वर्षीय अनुभव शर्मालाई लागुऔषधको मुद्दा चलाउने तयारी गरेको जनाएको छ । त्यस्तै पोखरा–६ का २७ वर्षीय विशाल परियार, पोखरा–५ पस्र्याङका २५ वर्षीय आशिष दर्जी, पोखरा–६ का ३२ वर्षीय बमेन्द्र पुन, दाङका २९ वर्षीय सौरभ महरा, काठमाडौंका २१ वर्षीय निकुञ्ज कार्की, ३१ वर्षीय सक्षम कोइराला, ३१ वर्षीय रोशन अधिकारी, २८ वर्षीय विवेक परियार र २६ वर्षीय सौरभ भनिने लोकबहादुर घर्तीमगरमाथि पनि मुद्दा चलाइने उनले बताए । ब्राजिलका नागरिक ४८ वर्षीय चाल्र्स गुवाइवामाथि पनि मुद्दा चलाउने प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार लगातार तीनदिनसम्म चलाउने तयारीका साथ पार्टी आयोजना गरिए पनि प्रहरीको छापापछि उक्त पार्टी रोकिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।