जातिय विभेद गर्ने पोखरा–२४ का वडाध्यक्षलाई साढे चार महिना जेल सजाय गर्ने जिल्ला अदालतको आदेश उच्चद्वारा सदर


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, बैशाख ९

जातिय विभेद गर्ने पोखराका एक वडाध्यक्षलाई साढे चार महिना जेल सजाय हुने भएको छ । आफ्नै वडा सदस्य मैया नेपालीलाई जातिय विभेदजन्य गालीगलौज गर्ने पोखरा महानगरपालिका वडा नम्बर–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले गरेको साढे ४ महिना जेलसँगै ७५ हजार जरिवाना र पीडितलाई १० हजार रुपैयाँ क्षेतीपुर्ती तिराउने फैसला उच्च अदालत पोखराले सदर गरेको हो ।

यसअघि जिल्ला अदालत कास्कीले वडाध्यक्ष अधिकारीलाई दोषी ठहर गर्दै साढे ४ महिनाको जेल सजाय तथा ७५ हजार जरिवाना तिराउने फैसला गरेको थियो । साथै पीडित वडा सदस्य नेपालीलाई १० हजार क्षेतीपूर्तीसमेत भराउने फैसला सुनाइएको थियो । जिल्लाले वडाध्यक्ष अधिकारीलाई जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बमोजिम दोषी ठहर गर्दै सजाय सुनाएको थियो ।

तर जिल्लाको आदेशबिरुद्द वडाध्यक्ष अधिकारीले उच्च अदालतमा पुरावेदन गरेका थिए । २०८१ साल मंसिर ५ गते दर्ता भएको सो पुनरावेदन मुद्दामा बुधबार फैसला गर्दै उच्चका न्यायाधीष द्वय मेरिना श्रेष्ठ र अञ्जु उप्रेती ढकालको संयुक्त ईजलाशले वडाध्यक्ष अधिकारीलाई दोषी ठहर गर्दै जिल्लाकै फैसला सदर हुने फैसला गरेको उच्च अदालत पोखराका उप रजिष्ट्रार तथा सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए । ‘जिल्लाकै फैसला सदर गर्ने फैसला छ’–उनले भने ।

पोखरा–२४ की वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले आफूमाथि जातिय विभेद गरेको भन्दै २०७९ सालको पुष २६ गते कास्की प्रहरीमा उजुरी दिएकी थिईन् । उजुरीमा वडाको बजेट कार्यान्वय सम्बन्धमा महिलाहरुको भेलामा वडाध्यक्ष अधिकारीले ‘तेरो परिवारको हैसियत के हो ? वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ भन्नेजस्ता जातिय विभेदजन्य गालीगलौज आफूलाई गरेको उल्लेख गरेकी थिईन् । सोहि आधारमा उनीमाथि जिल्ला अदालतमा मुद्दा चलेको थियो । सो मुद्दामा जिल्ला अदालत कास्कीले २०८० साल मंसिर ७ गते वडाध्यक्ष अधिकारीलाई जेल सजायसहित जरिवाना र क्षेतीपूर्ती तिराउने फैसला गरेको थियो । सोहि मुद्दामा उच्चले पनि वडाध्यक्ष अधिकारीलाई दोषी देखाउँदै जिल्लाको फैसला सदर गरेको हो ।

तस्बिर ः जातिय विभेदजन्य गालीगलौज गरेको आरोपमा सजाय सुनाइएका पोखरा–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।