जलवायु जोखिम न्यूनिकरणमा जोड दिदै सकियो अन्नपूर्ण जलवायु सम्मेलन तथा माछापुच्छ्रे सम्वाद


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, बैशाख २३

जलवायु जोखिम न्यूनिकरणमा जोड दिदै अन्नपूर्ण जलवायु सम्मेलन तथा माछापुच्छ्रे सम्वाद सकिएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ चौरमा मंगलबारदेखि शुरु भएको सम्मेलन १५ बुँदे माछापुच्छ्रे घोषणा पत्र जारी गर्दै बुधबार सकिएको हो ।

जलवायु परिवर्तन र हिमाली क्षेत्रको संरक्षणमा केन्द्रित सम्मेलनले जलवायु परिवर्तन कम गर्न वन डढेलो नियन्त्रण र न्यूनीकरणका लागि समुदायमा आधारित वन व्यवस्थापन प्रणाली सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । जलवायुजन्य जोखिममा परेको गण्डकी प्रदेशका पर्यावरण र समुदायको उत्थानशिलता अभिवृद्धि गर्ने कार्यमा सबै क्षेत्रबाट पहल गर्ने, वन क्षेत्रले कार्वन सञ्चिती र उत्सर्जन न्यूनिकरणमा खेलेको भूमिकालाई ग्रहण गर्दै वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापनको माध्यमबाट वातावरणीय सेवा र वस्तुको निरन्तरताको सुनिश्चिततामा दृढ रहेको, कृषि र वन क्षेत्रमा रहेका अवशेष, पातपतिंगर र मिचाहा प्रजातीलाई बायोचार र बायोकम्पोष्टमा उपयोग गर्दै वन डढेलो र माटोको उर्वराशक्ति बढाउने कार्यमा प्रोत्साहन गर्ने प्रतिबद्धता घोषणा पत्रमा गरिएको छ । सम्मेलनले २०६९ साल बैशाख २१ गते गएको विनासकारी बाढीको स्मरणसहित जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको अध्ययन, अनुसन्धान र अवलोकनका लागि अन्नपूर्ण जलवायु विपद स्मृति केन्द्र स्थापना गर्न आग्रह गरेको छ ।

सम्मेलनले हिमालमा भइरहेका श्रृंखलाबद्ध प्रकोपको कारण हुने विपद जोखिम न्यूनिकरण गर्न मौषम सूचना केन्द्र पूर्व सूचना प्रणालीको बिस्तार र पहुँचको सुनिश्चितता स्वीकार गर्ने घोषणा गरेको छ । त्यस्तै, जलवायु परिवर्तनका असर र प्रभाव एवम् जलवायुजन्य जोखिमका बारेमा सुसुचित समुदाय निर्माण गर्न विद्यालय स्तरमा पाठ्यक्रम विकास र तथ्यांक अभिलेखिकरण कार्यमा ऐक्यबद्धतासमेत जनाइएको छ ।

सम्मेलनले स्थानिय आदिवासी, जनजातिलगायतका स्थानीय समुदायको परम्परागत ज्ञान, सीप र अभ्यासहरुको संरक्षण र सम्वद्र्धन गर्न प्रतिबद्धता, वातावरणमैत्री भू–उपयोग तथा विकासका पूर्वाधार निर्माण र प्रकृतिमा आधारित पर्यटनमा प्रतिबद्धता, मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्न सह–अस्तित्वको अभ्यासलाई प्रोत्साहन गर्ने, जलवायुमैत्री कृषि अभ्यास र प्रविधि प्रवद्र्धनमा जोड दिने प्रतिबद्धता जनाएको छ । त्यस्तै, जलवायु परिवर्तनका संकटासन्नतालाई सम्बोधन गर्न तीन तहका सरकारको समन्वयमा शैक्षिक एवम् अनुसन्धान संस्था, संरक्षण साझेदार र नीजि क्षेत्र बीचको सहकार्यलाई बढावा दिन प्रतिबद्धता जनाएको छ ।

सम्मेलनको निश्कर्ष र यसले दिएको सुझावलाई विश्वमञ्चमा पु¥याउन पनि सरकारलाई अपिल गर्दै घोषणा पत्र जारी भएको घोषणा पत्र मस्यौदा समितिकी सदस्य तथा आयोजक सेभ आवर हिमालयकी स्मीता अधिकारीले जानकारी दिईन् ।

यसअघि सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशका बिभिन्न ठाउँ र वस्तीहरु बिभिन्न समयमा बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि लगायतका समस्याले प्रताडित हुनुपरेको यथार्थ औंल्याउँदै उक्त दैवि विपत्तीका पिडितहरुलाइ उचित संबोधन गर्ने प्रतिवद्धता व्यक्त गरे । बिभिन्न उत्कृष्ट प्राकृतिक स्रोत साधनले बिश्वबजारमा परिरिचत ठाउँमा जलवायु परिवर्तनले छिट्टै प्रभावित गर्ने भन्दै यसका लागि सबैको हातेमालो, सहकार्य , चासो र सक्रियता आवश्यक रहेको उनको भनाई थियो ।

सेभ आवर हिमालय फस्र्ट नेपालका अध्यक्ष तथा कार्यक्रमका संयोजक डिबी नेपालीले गण्डकी प्रदेश क्षेत्र पर्यावरणीय र वातवरणीय हिसावले अत्यन्तै संवेदनशिल, महत्वपुर्ण र विश्व परिचित भएकोले यस क्षेत्रमा जलवायु परिवर्तनको प्रमुख मुद्दा बन्नु पर्ने मान्यता राख्दै कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सेभ आवर हिमालय फ्रस्र्ट नेपाल सहित गण्डक्री प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका र अन्नपुर्ण गाउँपालिकाको संयुक्त आयोजनामा कार्यक्रम भएको उनले बताए ।

सम्मेलनमा जलवायु परिवर्तनले मौसम, पर्यावरण र जीवनयापन लगायतका बिभिन्न पक्षहरुमा पारेको प्रभाव सम्बन्धि तीन दर्जन अनुसन्धान पत्र र कार्यपत्रह्ररु प्रस्तुत गरिएको सेभ आवर हिमालकी स्मीता अधिकारीले जानकारी दिईन् । उक्त कार्यक्रममा युनिभर्सीटी अफ कलगेरी क्यानडाका प्रोफेसर डा. माइरिल बलार्डले जलवायृ परिवर्तनमा आदीवासीको भविष्य, डा.वसन्तराज अधिकारीले हिमालय रिजनमा विपद जोखिम, खगेन्द्रराज पौडेलले नेपालको हिमालयको केस स्टडी, गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका पुर्णेश्वर सुवेदीले जलवायु परिवर्तन पहिले र अहिलेको अवस्था, जनप्रिय बहुमुखी क्याम्पसका दीपेन्द्रराज पहारीले माछापुच्छ्र्र्रेका नभनिएका कथा लगायतका विषयमा अनुसन्धान तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै जलवायु परिवर्तनले स्वास्थय, समुदाय, वन जंगल, पानीका स्रोत, वन्यजन्तु लगायतमा परेको प्रभावका सम्बन्धमा युनिभर्सीटी अफ कलगेरि क्यानडाका प्रोफेसर डा. रञ्जन दत्ता, जेबुनीसा च्यापोला, नेपाल वाटर कन्जरभेसन फाउण्डेसनका नमिन्द्र दाहाल र एक्यापका डा. राजन पौडेलले अनुसन्धानपत्रहरु प्रस्तुत गरे ।

त्यसैगरी गण्डकी प्रदेश सरकारका रणनिति, पर्यटन क्षेत्रमा प्रभाव, कृषिमा प्रभाव, इकोलोजी प्रभाव लगायतका विषयमा डा. रिपु कुवँर, श्रीकान्त खतिवडा, अनुपम उप्रेती र प्रेम दवाडीले कार्यपत्र प्रस्तुत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।