तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ ।
दिउँसोपख चरक्क लागेको घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा यहाँका सडक सुनसान जस्तै देखिन थालेका छन् । गर्मी बढेसँगै उखुको जुस र लस्सी पिउने स्थानमा सेवाग्राहीको घुइँचो बढ्न थालेको हो । जल तथा मौसम विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार सन् २०१२ जुन १४ मा नेपालगञ्जमा सबैभन्दा बढी ४५ डिग्रीसम्म तापक्रम पुगेको थियो । पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढदै गएको छ । यसले सबैभन्दा बढी विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढी प्रभावित भएका उनले बताए ।
उनले बिहीबार यस वर्षको सबैभन्दा बढी ४१ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम पुगेको जनाउँदै जेठ ४ गते यतादेखि तापक्रम निरन्तर बढिरहेको बताए । प्रमुख अवस्थीले तातो दिन, अधिक तातो दिन र अत्यधिक तातो दिनका रूपमा तापक्रमअनुसार वर्गीकरण गरिने उल्लेख गर्दै कोहलपुरबाहेक राँझा विमानस्थल र खजुरा स्टेसनबाट लिइएको तापक्रमअनुसार निर्क्यौलमा पुगिने जानकारी दिए । “एक दिन गर्मी हुँदा अर्को दिन अलि कम हुने अवस्था पनि देखिएको छ तर गर्मी बढ्दै गएको छ”, उनले भने ।
गर्मीले जनजीवन प्रभावित बनाइरहेका बेला विद्युत् आपूर्तिमा समेत कठिनाइ झेल्नुपर्दा यस क्षेत्रका स्थानीयले सास्ती खेपिरहनुपरेको छ । विद्युत् प्राधिकरण केन्द्र नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर सञ्जयकुमार मिश्राले कोहलपुर ग्रिड शाखाबाट प्रसारण हुने विद्युत्मा लोड भएकाले त्यसको असर नेपालगञ्जको विद्युत् लाइनमा परेको जानकारी दिए ।
इन्जिनियर मिश्राले कोहलपुर ग्रिडको १३२र३३ केभी प्रसारण लाइनमा देखिएको समस्या दीर्घकालीन रूपमा समाधानका लागि जानकीको बकसपुरमा निर्माणाधीन प्रसारण लाइनको काम सम्पन्न भएपछि हुने बताउँदै योसँगै नेपालगञ्जमा देखिएको विद्युतको समस्या समाधान हुने विश्वास व्यक्त गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ ९ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट मजदुर संगठनले दुईतले…







