मनाइँदै बकर इद (इदुल जोहा),विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०८३ मा प्रकाशित




मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।

पर्वका अवसरमा मक्कामदिना जानु शुभ मानिएअनुसार त्यहाँ जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । मक्कामदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुस्लिम धमालेले जायज मानेका जनावरलाई कुर्बानी बलि दिन्छन् । परम्पराअनुसार कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ ।मुस्लिम धर्मावलम्बीले शनिबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदले जनाएको छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गरेका छन् । इद–उल–अज्हा बकर इदको अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मातृभूमिसँगको आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गरे । राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विशेष विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम गर्ने उल्लेख गरे । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरेका छन् । उपराष्ट्रपति यादवले यस पर्वले विशेषतः विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पर्वका अवसरमा सभामुख डोलप्रसाद अर्याल,राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल,नेपाली कांग्रेसका सभापति गगनकुमार थापा,नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाललगायतले शुभकामना सन्देश जारी गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।