सन्देश श्रेष्ठ
पोखरा, जेठ १४
ट्रेड युनियनहरु र संघसंस्थाले ओगटेको अवैध संरचनामा पनि पोखरा महानगरपालिकाले डोजर चलाएको छ । विभिन्न पार्टी निकट मजदुर संगठन र संघसंस्थाहरुले पोखरा बसपार्कको बाटो उत्तरपट्टी बनाएका दर्जनौं भवनहरुमा महानगरले विहीबार डोजर चलाएको हो ।

महानगरले यसअघि सो भवनहरु हटाउन ३५ दिने सूचना जारी गरेको थियो । पटक÷पटकको सूचना बेवास्ता गरेपछि महानगरले विहीबारदेखि त्यहाँ रहेका भवनलगायतका संरचना हटाउन डोजर चलाएको छ । पृथ्वीचोकको बाटो उत्तरपट्टी रहेको पोखरा हङकङ बजारको अगाडि रहेका नेपाली कांग्रेस निकट मजदुर संगठन नेपाल ट्रेड युनियन कंग्रेस, नेकपा एमाले निकटको एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) कास्की र गण्डकी तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भवनहरु डोजरले भत्काएको छ ।
त्यस्तै, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पृथ्वीचोक, सहारा क्लब पोखरा, हिमाली सांस्कृतिक परिवार, श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायतका संघसंस्थाहरुको भवनसमेत डोजर लगाएर भत्काइएको छ । साथै सहारा क्लवले सो क्षेत्र प्रवेश द्वार नजिकै बनाएको सहारा शौचालयसमेत भत्काइएको छ । यी भवनहरु हटाउन महानगरले ३५ दिने म्यादसहितको सूचना निकाले पनि कसैले पनि हटाएका थिएनन् । भवन नभत्काए पनि मजदुर संगठन तथा संघसंस्थाहरुले सामान भने सारेर भवन खाली गराइसकेका थिए । भवन भत्काउन डोजरसहित महानगर प्रहरी पुग्दा केहिले भने सामान सारिरहेको दृश्य पनि देखिएको थियो । सूचना निकाले पनि तत्काल महानगरले डोजर लगाईहाल्ला भन्ने नलागेर सामान सार्न ढिलाई गरेको उनीहरुको भनाई थियो ।
आफैले नहटाएपछि बाध्य भएर विहीबारदेखि डोजर लगाएर भत्काउन थालिएको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए । भत्काउँदा लाग्ने खर्च भने सम्बन्धित संघ, संस्था तथा मजदुर संगठनबाटै असुल उपर गरिने उनले बताए ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेका यी जमिनहरुमा मजदुर संगठन तथा संघसंस्थाहरुले दुई÷तीन तले भवन ठड्याएर माथिल्लो तलामा कार्यालय सञ्चालन गर्नुका साथै तल्लो तलामा सटर बनाएर भाडामा लगाएका थिए । जसको भाडा ती मजदुर संगठन तथा संघ, संस्थाहरुको नियमित आम्दानीको स्रोत बनेको थियो ।
महानगरले संरचना भत्काएर सडक फराकिलो बनाउने भएको छ । अहिले भत्काएको क्षेत्रमा साँघुरो सडक छ । तर अब त्यहाँ रहेका संरचना भत्काएपछि दुई लेनको सडक बनाउने योजना रहेको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्साले बताए । उनले भने,‘बल्ल ठाउँ फराकिलो भएको छ । अब पृथ्वीचोक नपुगी बसपार्कको अपोजिटबाट सिधै नयाबजार निस्किने दुई लेनको सडक बनाउँछौं ।’
महानगरले फिर्केखोला खोलाघरमा बनेका संरचना पनि निरन्तर हटाइरहेको छ । सो खोलाको खोलाघरमा बनेको लिटिल स्टेप बोर्डिङ स्कुलको भवन भने केहि दिनमा मात्रै भत्काइने भएको छ । स्कुलले विद्यार्थीले अध्ययन गरिरहेका कारण वैकल्पिक व्यवस्थाका लागि केहि दिन पर्खिदिन आग्रह गरेकाले सो विद्यालयको भवन तत्काल नभत्काईने मेयर आचार्यले बताए । तर महानगरसँग केहि दिनको समय मागेको सो विद्यालयले सर्वोच्च गएर तत्काल भवन नभत्काउन अल्पकालीन आदेश मागेको खबर प्राप्त भएको छ । स्वीकृति लिएर भवन बनाएकाले महानगरको भत्काउने निर्णयमा रोक लगाउन गरेको माग अनुसार नै सर्वोच्चले अल्पकालीन आदेश दिएपछि मेयर आचार्य भने आक्रोषित भएका छन् । उनले केही व्यक्ति संस्थाले फिर्के खोलाघरभित्रका संरचनाहरू नभत्काउन, रोक्न, स्थगन गर्न दिएको निर्देशनमा ध्यानाकर्षण भएको जनाएका छन्,उनले भने,‘महानगरपालिकाले सम्मानित उच्च अदालतको यसअघिको आदेश र पटक पटक संरचना आफै हटाउन दिइएका सूचनाहरूको समय व्यतीत भइसकेपछि मात्र खोलाघरमा बनेका संरचनाहरू हटाउन सुरुवात गरेको हो । अब कुनै पनि वहानामा खोलाघर माथि बनेका संरचनाहरू भत्काउन बाँकी रहँदैनन् । डोजर चल्न रोकिदैनन् ।’
उनले दिइएको समयसीमा भित्र संरचना हटाउनुको सट्टा वाहानाबाजी गर्न खोजिएकाले महानगर आफैले हटाउन थालेको स्पष्ट पारेका छन् । अब महानगरपालिकाको यो अभियान रोकिने छैन,उनले थपे,‘खोला, खोला नै हो, खोला नै रहने छ । कुनै कन्फ्युजन छैन । यसमा रहेका सबै संरचना भत्काईनेछ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


निर्वाचन व्यवस्थापनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन सबै पक्षको भूमिका आवश्यक…







