पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८३ मा प्रकाशित




पोखराका व्यवसायी देवराज पौडेल ‘धुर्व’ले आफ्नी स्वर्गीय श्रीमतीको जन्मदिनमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन् ।

पोखरा १९ घार्मीको महेन्द्र माध्यमिक विद्यालयमा श्रीमती शारदा पौडेलको स्मृतिमा उनले १ लाख १५ हजार रुपैयाँको कोष स्थापना गरेका हुन् । स्वर्गीय शारदा पौडेलले २०५० साल देखि २०५७ सालसम्म सो विद्यालयमा अध्यापन गराएकी थिईन् । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रमका बिच स्वर्गीय पौडेलका पिता हरिबहादुर कार्की,श्रीमान देवराज पौडेल र आफन्त दीपेन्द्र बस्नेतले महेन्द्र अक्षयकोषमा रहने गरी सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछाने,वडा सदस्य कल्पना सुनार,निमित्त प्रधानाध्यापक नन्दराज दाहाल, निवर्तमान प्रधानाध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे । पौडेलका २ छोरी दिपा र दिक्षा अमेरिकामा बस्दै आईरहेका छन् ।

रकम हस्तान्तरण पछि कार्यक्रममा बोल्दै कार्कीले आफ्नी छोरीले केही समय यस विद्यालयमा सेवा गरेको स्मरण गर्दै, कोष मार्फतको रकमले विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षा गरे । व्यवसायी पौडेलले रकमबाट प्राप्त व्याज विपन्न वर्गका विद्यार्थीका लागि खर्च गर्न आग्रह गरे ।विद्यालयका अध्यक्ष लेखनाथ लामिछानेले बिभिन्न दाताहरुको सहयोगबाट नै विद्यालयले कोष मार्फत विद्यार्थीलाई छात्रवृति दिदैं आएको जानकारी गराए ।

कोषमा हालसम्म २५ जनाले सहयोग उपलब्ध गराएको र संकलित रकम मध्ये पौडेलले सहयोग गरेको रकम सर्वाधिक रहेको विद्यालयले जनाएको छ । सो कोषमा करिब १५ लाख संकलन भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।