गण्डकीमा मनाईयो गणतन्त्र दिवस, प्रदेश सरकारद्वारा विभिन्न क्षेत्रका व्यक्ति सम्मानित


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८३ मा प्रकाशित




गणतन्त्र दिवसको अवसरमा बिभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरु सम्मानित भएका छन् ।

गण्डकी प्रदेश सरकारले दिवसको अवसरमा आज पोखरामा आयोजना गरेको कार्यक्रममा प्रदेश भित्रका उत्कृष्ट शिक्षक, किसान, उद्यमी, समाजसेवी, पत्रकार र सुरक्षाकर्मीलाई सम्मान गरेको हो। समारोहमा सशस्त्र प्रहरी बल नेपालबाट नं. २४ गण हेडक्वाटर कालिका गणका तत्कालीन प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार शर्मा र प्रहरी वरिष्ठ हवल्दार लोकेन्द्रबहादुर नेगी तथा नं. २३ गण हेडक्वाटर मनकामना तनहुँका सशस्त्र प्रहरी सहायक हवल्दार विनोद खड्कालाई नगद पुरस्कार प्रदान गरिएको छ । नेपाली सेनाबाट श्रीमेहर गणका सुवेदार यम्मरबहादुर बुढा क्षेत्री, श्री नं. ३ राजदल गणका प्युठ मिलन खवास र श्री रिपुमर्दन गणका सिपाही सुजन राई सम्मानित भए।त्यस्तै नेपाल प्रहरीबाट गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक विष्णुराज पौडेल, गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी वरिष्ठ हवल्दार श्यामकान्त श्रीवास्तव र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङका प्रहरी जवान राजेश वोटेलाई सम्मान गरियो ।

सम्मानित ९ जना सुरक्षाकर्मीलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव तथा सूचना अधिकारी हिमा पोख्रेलले जानकारी दिइन् ।समाजसेवातर्फ गोरखा चुमनुब्री ७ का पेमा छेवाङ लामा, कास्की पोखरा ११ की डा. चन्द्रा भद्रा र कास्कीका आनन्दराज मुल्मी सम्मानित भए। सञ्चारकर्मीतर्फ पर्वतकी सरस्वती शर्मा जिज्ञासु, कास्कीका केशवराज पराजुली र कास्कीकै माधव शर्मालाई सम्मान गरियो।गण्डकी प्रदेशमा रही शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै,पोखराको विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, माछापुच्छ्रे माध्यमिक विद्यालय भुजुङखोलाका प्रधानाध्यापक सन्तोष आचार्य र बागलुङको रुद्रेपिपल माध्यमिक विद्यालयकी पुर्व प्रधानाध्यापक सीता नेपालीलाई सम्मान गरियो।उनीहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ ।

कृषि क्षेत्रतर्फ सम्मानित हुनेहरुमा पशुपालनतर्फ तनहुँको शुक्लागण्डकी १० का शिवलाल रसाइली, तरकारी बीउ उत्पादनतर्फ पर्वतको फलेवास ११ की माया पाठक र मौरीपालनतर्फ नवलपरासी पूर्व कावासोती ९ का चण्डिकाप्रसाद लामिछाने छन्।घरवास सञ्चालकतर्फ नवलपरासी पूर्व देवचुली १७ को बृहत् सामुदायिक होमस्टे, स्याङ्जा आँधीखोला १ को सिरुवारी सामुदायिक होमस्टे र मनाङ नासो ८ को ताचै घरवास व्यवस्थापन समिति सम्मानित भए। निजी क्षेत्रबाट पोखराको होटल एलिजेन्ट, पर्वत फलेवास ४ को कम्युनिटिज फुड्स प्रोसेसिङ इन्डस्ट्री र तनहुँ भानु ९ को ग्रिन हिमालय फार्म स्टेलाई सम्मान गरियो।उनीहरुलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।सम्मानितहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्ट र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरे ।

यसअघि मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा हुँदै जाने बताउँदै, संविधानले निर्दिष्ट गरेअनुरुप समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य संचालनका पक्षमा दृढतापूर्वक उभिन जरुरी रहेको उल्लेख गरे । गणतन्त्रलाई सुदृढ बनाउन शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्य प्रणाली, सुशासन, जनसहभागितासहितको विकास प्रक्रिया, सामाजिक न्याय, अवसरको न्यायोचित वितरण, रोजगारीमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य आवश्यकता रहेकोमा उनको जोड छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।