तनहुँको तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ तार्कुडाँडाको भंगारामा रहेको मनकौरी देवीको मन्दिर यहाँको एक सय ११ वर्ष अघिदेखिको इतिहासको जीवन्त साक्षी हो ।
यस क्षेत्रमा वस्ती विकास भइरहेका अवस्थामा वि.सं. १९७२ मा साक्षत् रुपमा प्रकट भएकी देवीका रुपमा त्यस समयदेखि अत्यन्त श्रद्धा र विश्वासका साथ मन्दिरमा निरन्तर पूजाआजा हुँदै आएको मनकौरी देवी संरक्षण समितिका अध्यक्ष नेत्रबहादुर गुरुङले जानकारी दिए । श्रद्धा भक्तिपूर्वक पूजाआजा गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण मन्दिरको महिमा र गरिमा उचो भएपनि आवश्यक प्रचारप्रसारको अभावमा यहाँको ऐतिहासिक तथा धार्मिक महत्व अझै उजागर हुन नसकेको उनले बताए । यो मन्दिर स्थापनाको इतिहास रोचक लाग्दो छ । बुढापाको भनाइलाई उद्यृत गर्दै मनकौरी देवी संरक्षण समितिका अध्यक्ष गुुरुङका अनुसार वि.सं.१९७२ सालमा तार्कुडाँडा, भंगारा क्षेत्रमा रहेको डुम्री पानीका रुपमा चिनिने खानेपानीको पँधेरो आसपासका क्षेत्रमा सुनको जस्तो टिका लगाएकी बालिका देखिन थालिछन् । टाढाबाट झट्ट हेर्दा देखिने तर नजिक गएपछि हराउने र पुनः अर्को ठाउँमा देखिने क्रम बढेसँगै स्थानीयले ज्योतिषीकहाँ हेराउँदा यस स्थानमा देवी उत्पन्न हुन थालेको बताइएछ ।
ज्योतिषीकै सल्लाह अनुसार पँधेरो नजिकै खरले छाएर बीचमा काठको मौलो राखेर माटोको गारो सहितको मन्दिर बनाइएछ । मन्दिरलाई त्यसै बेलादेखि मनकौरी देवीका रुपमा लिइएछ । मन्दिर बनाउने क्रममा मन्दिरको बायाँतर्फ पानीको कुण्ड खनेर समथर बनाइएछ । तर कुण्डको बीचमा माटाको ढिस्को देखिएछ । उक्त माटाको ढिस्कोलाई स्थानीय मकानसिंह गुरुङले कोदालोले खन्दा रगत बगेछ । पछि किन यस्तो भयो भनेर हेरकोर गर्दा देवी उत्पत्ति हुन लागेकै कारण त्यस्तो भएको भन्ने जानकारी पाइएछ । सुरुमा मन्दिर बनेको केही वर्ष पछि भत्किए पनि सानो गाउँ भएका कारण तत्काल अर्को मन्दिर बन्न सकेन । लामो समय पछि २०३५ सालतिर उक्त स्थानस्थित खानेपानीको कुवाको कुनामा रहेको ढुङ्गमा सुनको टिका जस्तै देखिएछ । उक्त टिका आँफूले पनि प्रत्यक्ष देखेको गुुरुङले अनुुभव सुनाए । आँफू सहित चारपाँच जनाले पहेलो टिका के रहेछ भनेर कोट्याउन खोजेपनि त्यो नउक्किएको जानकारी दिदै उनले पछि त्यस स्थानमा मन्दिर बनाए पछि उक्त टिका आँफैं हराएको बताए । त्यस क्रममा मन्दिर बनाउँदा स्थानीय वियागन भन्ने ठाउँबाट ज्यामी ल्याइएको थियो ।
उक्त क्रममा वियागनबाटै स्थानीयले मन्दिरमा छाउने ढुङ्गा बोकेर ल्याएका थिए । हेरकोरका क्रममा कुण्डमा सुरुमा देखिएर हराएको टिका देवीको स्वरुप रहेको र मन्दिर बनाएपछि मन्दिर भित्रै सरेको पाइएको उनले जानकारी दिए । मन्दिरमा मुल ढोकाका साथै वायाँतर्फ सानो ढोका रहेको छ । सानो ढोकाका अघि जल कुण्ड छ । उक्त जलकुण्ड तर्फको ढोका तिर मन्दिरको भित्र रहेको शिला सर्ने विश्वासका कारण पनि यहाँको धार्मिक महत्व अझै बढाएको स्थानीयवासी बताउँछन् । प्रत्येक दिन मन्दिर भित्र रहेको शिला कुण्डतर्फ स्नानका लागि सो ढोकातर्फ सर्ने गरेको जनविश्वासले पनि यहाँको महत्व अझै बढाएको हो ।मनले चिताएको पुग्ने विश्वासका कारण मन्दिरमा समय समयमा भाकल पूजाका लागि दर्शनार्थीहरू आउने गरेका छन् । “मन्दिर भित्रको पूजा कन्ये केटाले गर्नुुपर्ने यहाँको अनौठो परम्परा छ”, उहाँले भन्नुुभयो, “प्रत्येक महिना पूर्णिमाका दिनमा पूजाआजा हुने यस मन्दिरमा साउन, एकादशी र औंशीमा भने पूजा गरिदैन ।” बोका, पाठी, कुखुरा आदिको बली पूजा हुने यस मन्दिरमा परेवा उडाउने प्रचलन समेत रहेको उनले जानकारी दिए ।
ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको भएर पनि मन्दिरको प्रवद्र्धन हुन नसकेको तार्कुडाँडाका पुराना वासिन्दा मुकुन्दराज घिमिरे बताउँछन् । आँफैं उत्पत्ति भएकी देवीका रुपमा यहाँको महिमा र गरिमा बढाएको उनले बताए । मन्दिरको ऐतिहासिकतासँगै धार्मिक महत्वलाई उजागर गर्न सकिएमा यस स्थललाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने उनको भनाइ छ । मनकौरी देवी मन्दिर क्षेत्रलाई एक दिवशीय हाइकिङको पदमार्गमा पनि समेट्न सकिने उनले जानकारी दिए । तनहुँको कोत्रे हुँदै एक्लेखेत, मनकौरी देवी मन्दिर रहेको भंगारा, मकानपुर, भुजिकोट, दगाम, थप्रेकको तल्लीपोखरी, सेराबेँशी हुँदै कास्कीको गगनगौडासम्म करिब पाँच घण्टाको एक दिने हाइकिङ मार्ग विकास गर्न सकिने घिमिरेले बताए । यहाँ रहेको जलकुण्डमा अघिअघि लहरी समेत चल्ने गरेको बुढापाकाले बताएको स्थानीयवासी गुनसरी गुरुङले बताईन् । पछिल्ला समयमा भने आँफूहरूले लहरी चलेको देख्न नपाएको उहाँले बताउनुभयो । जस्तोसुकै खडेरीमा पनि यहाँको जलकुण्डमा पानी नसुक्नुलाई पनि धार्मिक महत्वसँग जोडेर हेर्ने गरिएको छ ।
मनकौरी देवीको धार्मिक महत्वलाई उजागर गर्ने लक्ष्यका साथ स्थानीयवासीले यहाँको पूर्वाधार विकासमा पनि जोड दिएका छन् । मनकौरी देवी संरक्षण समितिका अध्यक्ष गुरुङका अनुुसार शुक्लागण्डकी नगरपालिका घोषणा भएपछि २०७८ सम्म दुुई चरणमा विनियोजित चार लाख ५० हजार रुपैयाँका साथै स्थानीय जनसहभागिता समेत गरी १० लाख ५५ हजार रुपैयाँमा मन्दिर ढलान सहितका विभिन्न पूर्वाधार विकासका काम सम्पन्न गरिसकिएको छ । मन्दिरकै महत्वलाई दृष्टिगत गरी पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ र कास्की सिमानास्थित कोत्रेबाट एक्ले खेत, तार्कुडाँडा, भंगारा, मकानपुर, भुजिकोट, पन्थथोक, स्थानथोक, माझ दगाम, छेउ दगाम, जुरोथुम, झुप्राङ हुँदै राङ्दी चल्ने मोटरबाटोलाई मनकौरी मोटरमार्गका रुपमा नामाकरण गरिएको उनले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको भलाममा भएको निशुल्क वृहत आँखा शिविरबाट २ सय बढी लाभाम्वित भएका…







