प्रधानमन्त्री बालेन शाहले संसदमा उपस्थित भएर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका छन् ।
प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री शाहले बोल्नका निम्ति हात उठाएका थिए।बैठक सुरु हुनासाथ उनले हात उठाए । र, उनी उठ्न खोजे ।त्यसपछि सभामुख डोलप्रसाद अर्यालले रोस्ट्रम प्रयोगको अनुमति दिए । प्रधानमन्त्री बालेनले आफूले सांसदहरूका प्रश्नको उत्तर दिने बताए ।उनले सांसदको एक एक प्रश्नको जवाफ दिएका छन् ।प्रधानमन्त्री शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । एमालेकी सांसद पद्मा अर्यालले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर व्यापार गर्न सडक निर्माणलगायत संरचना बनाएको सन्दर्भमा प्रतिनिधिसभाको आजको बैठकमा गरेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले नेपाल र भारतबीचको सीमा विवादमा इतिहासविद्सहितको संलग्नतामा समाधानको प्रयत्न भएको सदनलाई जानकारी दिँदै सम्बन्धितसँग बसेर वार्ताबाट निकास खोजिने जानकारी दिए । यस विषयमा बेलायत सरकासँग पनि छलफल गर्नुपर्ने प्रधानमन्त्री शाहले बताए ।
सांसदले राखेका धेरैजसो कुरालाई सल्लाह र सुझावका रुपमा लिने बताउँदै प्रधानमन्त्री शाहले नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन मात्र नभएर विभिन्न कालखण्डमा भएका आन्दोलनका प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । “विभिन्न कालखण्डमा भएका आन्दोलनको सम्बन्धमा धेरै प्रतिवेदन छन् । एउटा मात्रै प्रतिवेदन छैन । विभिन्न कालखण्डमा विभिन्न आयोग गठन भएका छन् । आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरु छन् ती सबै प्रतिवेदनलाई एकमुष्ट नेपाल सरकारले अध्ययन गर्छ, त्यही अनुसार कामकारबाही गर्छ ।’’प्रधानमन्त्री शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक सुकुमबासीलाई नेपाल सरकारले जग्गाको व्यवस्थापन गर्ने स्पष्ट गरे । बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले काठमाडौँ उपत्यकामा रहेको खोला किनारामा जोखिमपूर्ण अवस्थामा बसिरहेका नागरिकलाई अर्को ठाउँमा सार्ने काम गरिएको र आफू स्थानीय सरकारमा हुँदादेखि नै सङ्घ सरकारलाई सुकुमबासीलाई त्यहाँबाट स्थानान्तरण गरेर होल्डिङ सेन्टरमा राख्न आग्रह गरिएको स्मरण गराए ।
उनले देशभर कतै पनि जमिन नभएका वास्तविक सुकुमबासीलाई जग्गाको व्यवस्थापन गर्नु आग्रह गरिए पनि सम्बोधन नभएको उल्लेख गर्दै हाल सोहीअनुसार काम गरिने बताए । उनले सुकुमबासीलाई जग्गा व्यवस्थापन गर्ने गरी काम गरिरहेको भइरहेको जानकारी गराउनुभयो । उनले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताए । स्वतन्त्र सांसद महावीर पुनको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले विदेशमा रहेका नेपालीले मतदान गर्न दुई एउटा नेपाली दूतावासमा गएर मत दिने र अर्को मोबाइलबाटै मत दिने विकल्पहरू हुने बताए । प्रधानमन्त्री शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी गराए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीको प्रश्नको जवाफ दिँदै ‘भिजिट भिसा’मा गएर कामका लागि अनुमति पाएपछि कामदार भिसा लिन नेपाल आउनुपर्ने बाध्यता भएको अवस्थामा विदेशमै बसेर भए पनि कन्भर्ट गर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको अवगत गराए ।
बजेटमार्फत मासिक ५० युनिटभन्दा धेरै विद्युत् खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत मूल्यअभिवृद्धि कर लगाउने व्यवस्था गरिएका सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्रीले विद्युत् प्रणालीको क्षमता अभिवृद्धि गर्न सो कर लगाइएको स्पष्ट पारे । प्रधानमन्त्री शाहले वैठकमा केही सांसदहरुको प्रश्नको जवाफ दिएलगत्तै बाहिरिएका छन् । उनले प्रत्येक दलका एकजना सांसदको जिज्ञासा समाधान गरेका थिए ।प्रधानमन्त्री शाह वैठकमा जवाफ दिन आउँदा आजै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित भए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


उपन्यासकार ओम रिजालको उपन्यास ‘पैकेलो’माथि पोखरामा विमर्श गरिएको छ । नेपाली लेखक…







