पत्रकारलाई अनुसन्धानमूलक लेख लेखन तालिम


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०८३ मा प्रकाशित




नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि अनुसन्धानमूलक लेख लेखन तालिम सुरु भएको छ ।

जेठ २७ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मेयर आचार्यले पत्रकारिता क्षेत्रलाई अझ बढी जिम्मेवार र अद्यावधिक बनाउनु पर्ने बताए । उनले नेपालमा डिग्री हासिल गरेपछि वा परीक्षा सकिएपछि सिक्ने प्रक्रिया सकियो भन्ने गलत धारणा रहेको भन्दै यसलाई चिर्नुपर्ने धारणा राखे ।विशेष गरी पत्रकारिता जस्तो संवेदनशील र गतिशील क्षेत्रमा आबद्ध व्यक्तिहरूका लागि हरेक मिनेट र सेकेन्ड महत्वपूर्ण हुने उनको भनाइ थियो । सूचना र प्रविधिको विकाससँगै विश्वका कुनै पनि कुनाका घटना र सूचनाहरूबाट पत्रकारहरू प्रतिपल अपडेट रहनुपर्ने चुनौती रहेको उनले औंल्याए । अरुलाई मार्गनिर्देशन गर्ने क्षेत्र भएकाले पत्रकारहरूले आफूलाई सधैं तयार राख्नुपर्ने उनको तर्क थियो । पोखरा महानगरपालिका पत्रकारहरुको साथमा रहेको र व्यावसायिक विकासका लागि सहयोग गर्न सदैव तयार रहेको प्रतिबद्धता समेत उनले जनाए ।

कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र परिष्कृत बनाउन यो तालिम महत्वपूर्ण हुने बताए । पछिल्लो वर्षमा महासंघले विभिन्न तालिमहरु सञ्चालन गरे पनि यो पटकको कार्यक्रम नितान्त फरक र विशेष रहेको उनको भनाइ थियो । महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले पछिल्लो समय पठन संस्कृतिमा आएको ह्रास र समाचारहरूको प्रभावकारितामा देखिएको चुनौतीलाई चिर्न यो अवधारणा ल्याइएको बताए । नेपाल पत्रकार महासंघ पत्रकारहरुको हकहितका साथै क्षमता अभिवृद्धिमा सधैं क्रियाशील रहेको उल्लेख गर्दै सोही क्रममा विभिन्न तालिम सञ्चालन गरिरहेको उनले सुनाए ।

तालिममा डा. कुन्दन अर्याल, डा. श्रीराम पौडेल र डा. कपिल अधिकारीले प्रशिक्षण दिनेछन् । तालिममा पोखराका ६० जना पत्रकारहरुको सहभागिता रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।